पोखरा-२२ मा उत्पादित कफीको माग जापानसम्म

पोखरा न्यूज – २१ वैशाख । पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) कालाभाङमा रहेको भगवती आधारभुत विद्यालयमा लगाएको कफि प्रोजेक्ट सफल भएसंगै अब विद्यालयका अभिभावकहरुको घर घरमा कफि उत्पादन हुने भएको छ । बुद्ध फाउण्डेसन जापानको सहयोगमा विद्यालयमा ९ बर्ष अघि लगाइएको कफि प्रोजेक्टबाट उत्कृष्ट कफि उत्पादन भए पश्चात विद्यालयले आफ्ना अभिभावकहरुको घर-घरमा कफि उत्पादन गर्ने अभियानमा लागेको छ ।

आफ्नो गाउँमा थोरै लगानीमा दिगो रुपमा राम्रो आम्दानी हुने कफि प्रोजेक्टलाई विद्यालयका अभिभावकहरुसम्म पुराउन विद्यालयले फाउण्डेसनको सहयोगमा कफिका विरुवा निःशुल्क रुपमा वितरण गर्न सुरु गरेको बिद्यालय व्याबस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रकासचन्द्र गुरुङले बताए । नेपाल सहित श्रीलङका, भेतनाम, चाइना र लाहोसमा उत्पादन भएको कफि परिक्षण गर्दा नेपालको प्रतिनिधित्व गरिएको उक्त विद्यालयको कफि उत्कृष्ट भएकोले बुद्ध फाउण्डेसनले गाउँमै कफि उत्पादनमा विरुवा वितरण गर्ने अभियान सुरु गरेको उनले जनाए ।

जापानमा उक्त विद्यालयमा उत्पादन भएको गुणस्तरिय कफिको माग अत्याधिक भएको बुद्ध फाउण्डेसनका सदस्य जगन गुरुङले बताए । विद्यालयले माग अनुसार कफि पुर्ति गर्न नसकेर फाउण्डेसनले गाउँमै कफि प्रोजेक्ट संचालन गर्न लागेको उनले जनाए । केहि समय पछि जापानीज टोलीले कफि अवलोकन गरी सल्लाह सुझाव समेत दिने भएको गुरुङले बताए ।

विद्यालयमा हाल ६३ अभिभावक रहेकोमा उनीहरुलाई जनहि अधिकतम २० वटासम्म कफिका विरुवा दिने अभियान सुरु गरिएको कार्यवाहक अध्यक्ष गुरुङले बताए । पहिलो चरणमा बिद्यालयले २ सय २० वटा कफिका विरुवा वितरण गरेको उनले बताए । विद्यालयको स्पोर्ट्स मिट समापनको अवसरमा शुक्रबार बिद्यालयमा छात्रबृत्ति एवं कफिका विरुवा समेत वितरण गरेको हो ।

विद्यालयले यस बर्ष करिब २ हजार वटा कफिका विरुवा उत्पादन गर्ने भएको कार्यवहाक अध्यक्ष गुरुङले जनाए । उक्त विरुवा विद्यालयका अभिभावक सहितका बिद्यालयको नजिक रहेका गाउँलेलाई समेत वितरण गनिरे भएको उनले जनाए । अभिभावक सहितका गाउँलेले उत्पादन गरेको कफि समेत विद्यालयले खरिद गर्ने गरी हाल फाउण्डेसनको सहयोगमा कफिका विरुवा वितरण गरिएको कार्यवहाक अध्यक्ष गुरुङले बताए । कफिको बिरुवा रोपेको करिब ४ बर्ष देखि उत्पादन दिन सुरु हुने भएको बताइन्छ । राम्रो उत्पादन भएको कफिको एक विरुवाबाटै १७ केजीसम्म कफि उत्पादन हुने भएको छ ।

गुणस्तरिय शिक्षाको लागि विद्यालयले पछिल्लो ४ बर्ष देखि बार्षिक रुपमा ४÷५ लाख रुपैया कफिबाटै आम्दानी गर्न सफल भएको उनले जनाए । बुद्ध फाउण्डेसन जापानको सहयोगमा विद्यालयमा ९ बर्ष अघि लगाइएको कफिबाट रम्रो उत्पादन हुन थालेको छ । बिद्यालयमा १९ रोपनी क्षेत्रफलमा करिब १ हजार २ सय वटा कफिका विरुवा रोपिएको उनले बताए । उक्त कफि प्रोजेक्टबाट यस बर्ष विद्यालयको गुणस्तरिय शिक्षाको लागि ५ लाख रुपैया आम्दानी भएको कार्यवहाक अध्यक्ष गुरुङले बताए । उक्त बिरुवा मध्य ७० प्रतिशत जसो कफिका बिरुवाबाट उत्पादन लिन सुरु भएको उनले जनाए ।

केहि बर्ष देखि विद्यालयमा अगेंजी माध्यमबाट पढाई संचालन भएकोले गर्दा हाल निजी बिद्यालयमा जाने विद्यार्थीहरुको क्रमलाई समेत सामुदायिक विद्यालयले रोक्न सफल भएको कार्यवहाक अध्यक्ष गुरुङले दाबी गरे । २०६६ सालमा विद्यार्थीहरुको सङख्या घटेर ४२ जनामा खुम्चिएको उनले बताए । बिद्यालयमा हाल १२ जना शिक्षकहरु रहेका छन जसमध्य ५० प्रतिशत निजी श्रोतबाट विद्यालयले जोहो गर्दै आएको छ । बार्षिक रुपमा विद्यालयले करिब १५ लाख रुपैया शिक्षकहरुरको तलव भक्ता वापतको रकम निजी श्रोतबाट जुटाउनु पर्ने अबस्था रहेको जस मध्य विभिन्न अक्षयकोषबाट ५० प्रतिशत बाँकी रकम दाताबाट सहयोग संकलन गरी व्याबस्थापन गर्दै आएको कार्वबाहक अध्यक्ष गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button