पर्वतकी तारादेवीको परिवारलाई १ लाख राहत

पोखरा न्यूज -२२, वैशाख । गत वैशाख २ गते राति परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं ४ हलहलेकी २२ वर्षीया तारादेवी पुनको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु एक लाख राहत दिएको हो ।

वैशाख २ गते सोमबार घरमै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङबाट घाइते भएकी पुनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । पीडितका परिवारलाई जिल्ला विपत् व्यवस्थापन समितिकोतर्फबाट आज राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललेपीडितको घरमै पुगेर उक्त रकम मृतक तारादेवीका श्रीमान् प्रेम पुनलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रजिअ ढकालले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदनना प्रकट गरे । उनले पीडित परिवारलाई काजकिरियालगायत घरायसी खर्च व्यवस्थापन होस् भनेर गृह मन्त्रालयअन्तर्गत उक्त राहत रकम प्रदान गरिएको बताए ।

सदरमुकामसम्म जानुपर्ने, विभिन्न कागजात र प्रक्रिया मिलाउँदा पीडित परिवारलाई झनै समस्या हुने भएकाले आफू घटनास्थलमै आएर राहत प्रदान गरिएको उनको भनाइ छ । मृतक पुनका तीन वर्षीय छोरा रहेका छन् भने श्रीमान् र सासूआमा घरमा रहेका छन् ।

आर्थिकरुपले विपन्न उक्त परिवारमा तारादेवीको मृत्यु भएपछि झनै ठूलो सङ्कट परेको छ । घरमै आएर सरकारले राहत दिएको भन्दै पीडित परिवारका सदस्यले खुशी व्यक्त गरेका थिए । पर्वतमा वर्षेनी चट्याङका कारण मानवीय वा पशु चौपायाको क्षति हुने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button