लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न तनहुँले सहयोग गर्ने

पोखरा न्यूज -२४, वैशाख । तनहुँको व्यास नगरपालिकाले प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भ्रमण वर्षको प्रचारप्रसारका लागि आज तनहुँको दमौली आइपुगेको टोलीलाई स्वागत गर्दै नगरपालिकाका उपप्रमुख मीरा जोशीले भ्रमण वर्षलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा उपप्रमुख जोशीले महर्षी बेदव्यास भूमि दमौली र भगवान् गौतमबुद्धको भूमि लुम्बिनीलाई धार्मिक पर्यटनमार्फत् जोड्नुपर्नेमा जोड दिए ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले लुम्बिनी आउने पर्यटकलाई व्यास भूमिसम्म ल्याउने वातावरण सिर्जना गर्नका लागि सहकार्य हुनुपर्ने बताए । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेको र सो अभियानलाई लुम्बिनी भ्रमण वर्षले आधार प्रशस्त गर्ने बताए ।

प्रदेश सरकारले लुम्बिनीको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउने, लुम्बिनी आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउने, लुम्बिनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्धदर्शन मार्ग तथा शान्तिको उद्गमस्थलका रुपमा प्रचार गर्ने र लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण वर्ष घोषणा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button