बागलुङको पञ्चकोटमा केबलकार बन्ने

पोखरा न्यूज – २८, बैशाख । बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइसकेको सर्वसिद्धिधाम पञ्चकोटसम्म जाने केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको छ ।

बागलुङ नगरपालिका–४ को ओडारचौरदेखि नगरपालिकाको वडा नं ६ स्थित पञ्चकोटसम्म केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको हो । चीनको एक केवलकार कम्पनीका प्राविधिकले बागलुङ नगरपालिकाका पदाधिकारीसँग छलफल गरेर काम थालनी गर्न प्रस्ताव गरेका छन् ।

नेपाल सरकारले पञ्चकोटलाई १०० पर्यटकीयस्थलको सूचीमा राखेपछि दैनिक पञ्चकोटमा सयौँ धार्मिक पर्यटक आउने गरेका छन् । पञ्चकोटको प्रचारप्रसारका कारण मुक्तिनाथ जाने तीर्थालुसमेत बागलुङको पञ्चकोट आउन थालेका हुन् । केबलकार निर्माण भएपछि बागलुङमा पर्यटकको सङ्ख्यामा तेब्बरले वृद्धि हुने अपेक्ष गरिएको छ । पञ्चकोटमा हाल निर्माण भइसकेका कलाकौशलले भरिपूर्ण, गरुड शिला, सिसमहललगायतका संरचनाले पर्यटकलाई आकर्षित गरेको पाएपछि बागलुङ नगरपालिकाले केबलकारको प्रस्ताव गरेको हो ।

वार्षिक एकलाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पञ्चकोटमा बनाइने भनिएको संसारकै अग्लो विश्व शान्ति कलश र अन्य संरचना निर्माणपछि पर्यटकलाई आकर्षित गर्न केबलकारको प्रस्ताव ल्याइएको हो । पञ्चकोटमा हाल भारतीय पर्यटकको आर्कषण छ । केबलकार निर्माण गर्दा बागलुङको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने देखेर प्रस्ताव गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

“जनप्रतिनिधि भएपछि जनताको हित र विकासका लागि सम्भावना खोजी गर्ने क्रममा केवलकारकोे सम्भावना देखियो”, पौडेलले भने “आम नगरवासीको लगानीमा केवलकार निर्माण गर्न सकियो भने सोचेभन्दा बढी फाइदा पुग्ने छ ।” सबैसँग खुला छलफलबाट केवुलकार निर्माण गरिनुपर्ने धारणा आइसकेको र अझै पनि स्थानीयसँग बसेर निष्कर्षमा पुगिने नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक तथा ४ नं का वडाध्यक्ष धु्रवबहादुर केसीले बताउनुभयो ।

केबलकार निर्माणका लागि चीनको बेइजिङस्थित गुडयु रोपे इञ्जिनीयरिङ कम्पनीका सिइओ रुआन बिआओले प्राविधिक सहयोग गर्न तयार रहेको बताएका छन् । केबलकार साढे दुई किलोमिटर लामो हुनेछ । प्रारम्भिक अध्ययनपछि केबलकारको लागत निस्कने प्राविधिकले बताएका छन् । नगरप्रमुख चीन भ्रमणमा गएको बेला केबलकार निर्माणमा चासो राखेपछि चिनियाँ कम्पनी र नेपाली केही इञ्जिनीयरको पहलमा प्रारम्भिक अध्ययनको काम थालिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button