घान्द्रुकमा जेठ १७ देखि अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने

पोखरा न्यूज – ३०, वैशाख । कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा आउदो जेठ १७ देखि सुरु हुने अन्नपूर्ण सेन्चुरी पर्यटन  महोत्सवको अवसरमा म्याराथन प्रतियोगिता समेत हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा जेठ  १७ देखि २० गतेसम्म उक्त महोत्सवको अवसरमा जेठ २० गते म्याराथन प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सबमा म्याराथन संगै पुरुष महिला भलिबल, रक्साकसी, छेलो लगायतका प्रतियोगिता हुने बताइएको छ ।

अन्नपूर्ण आधारशिविरको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको महोत्सवका संयोजक ललित गुरुङले बताए । घान्द्रुकस्थित मेश्रम बराह माविको खेल मैदानमा हुने उक्त महोत्सवको अवसरमा पर्यटकहरुलाई बिषेश प्याकेज दिने भएको उनले बताए ।

पर्यटनको लागि सबै मौसम भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा हर्स राइडिङ गरी घान्द्रुक गाँउ घुम्न सकिने, गाउँबाट मनोरम दृश्यावलोकन गर्न सकिने, परम्परागत गुरुङ संस्कार संस्कृतिको प्रत्यक्ष अवलोकन गर्न सकिने, हिमाली तथा लेकाली जडि बुटिहरुको परिचय र त्यसको उपभोगीता सम्बन्धि जानकारी मुलक विवरण दिने, फोटो प्रर्दशन लगायतका विभिन्न प्रतियोगिताहरु हुने भएको छ ।

अन्य दिनमा एक रातको होटल आवासमा करिब १ हजार २ सय रुपैया पर्ने प्याकेज महोत्सवको अवसरमा खेलाडीलाई ७ सय र अन्य पर्यटकहरुलाई भने ९ सय रुपैया हुने भएको संयोजक गुरुङले बताए । उक्त महोत्सव सम्पन्न गर्न करिब १ करोड खर्च लाग्ने भएको संयोजक गुरुङले बताए । उक्त महोत्सव सम्पन्न गर्न ५ सय १ सदस्य मूल आयोजक समिति गठन भएको छ भने ३१ वटा उपसमिति रहेका छन्। गएको वर्ष पहिलो पटक तीन चरणमा महोत्सव गरिएको थियो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा अन्नपूर्ण म्याराथन रहेको छ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास र यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले महोत्सवको अवसरमा म्याराथन हुने भएको समितिका महासचिव दिलिप गुरुङले बताए । म्याराथन प्रतियोसिगतामा स्वदेशी तथा विदेशीले सहभागि हुन पाउने छन् । प्रतियोसिगतामा प्रथम हुनेलाई १ लाख पाँच हजार, दोश्रोलाई ७५ हजार र तृतियलाई ५५ हजार सामथा मेढल सहित प्रमाणपत्र रहेको छ ।

त्यसै गरी महोत्सवमा क्लवस्तरीय पुरुष/खुल्ला महिला भलिवल, क्लब स्तरिय पुरुष बास्केटबल, भेट्रान पुरुष भलिबल, वडा स्तरीय रस्साकस्की, ठेलो फाल्ने र मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता हुने भएका छन्। पुरुष भलिबलमा विजेतालाई एक लाख उपविजेतालाई ६० हजार, महिला तर्फ विजेतालाई ६० हजार र उपविजेतालाई ४० हजार रहेको छ । क्लब स्तरिय पुरुष बास्केटबल प्रतियोगिताका विजेताले ८० हजार उपविजेताले ५० हजार रहेको छ ।

जेठो हिमाल अन्नपूर्णको आधार शिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा आएर समापन हुने भएको छ । गत फागुनको १५ गते भीषण हिमआँधीको कारण आधार शिविरमा रहेका ४ वटा होटलमा क्षति पुगेको थियो । उक्त क्षेत्रमा पुरिएका होटल लजहरु पूर्ण रुपमा हाल मर्मत सम्हार नभएकोले त्यसको मर्मत संहारमा राज्यले समेत सहयोग गर्नु पर्ने संयोजक गुरुङले बताए । अन्नपूर्ण आधार शिविरमा पर्यटक सहज ढंगले जान नपाउने भएकोले स्थानिय तथा प्रदेश सरकारले खासै ध्यान नदिएको व्यवासायी जगनरास गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button