बागलुङको विद्यालयमा खुला आकाशमुनि पठनपाठन

पोखरा न्यूज – ३१, बैशाख । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ ।

यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु विकले बताए । “विद्यालयको छाना उडाएको महीना दिन बित्न लाग्यो, सम्बन्धित निकायलाई जानकारी गराएका छौँ”, प्रधानाध्यापक विकले भने , “हालसम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा एकाइ कतैबाट सहयोग भएको छैन ।”

विद्यालयको दुईकोठे छानो उडाउँदा भवनको गारोसमेत चिरा परेकाले जरैबाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको विकले बताए । उनले छाना छाउने नगरपालिकाले आश्वासन दिएपनि हालसम्म कुनै सहयोग नआउँदा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको हो ।

नगरस्तरीय विपत् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरिसकेको र क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए  ।

हावाहुरीले २ र ३ कक्षाका विद्यार्थी अध्ययन गर्ने कक्षाकोठाको छानो उडाएको हो । विद्यालयमा अन्य भवन नभएका कारण खुला आकाशमुनि, बाल विकास भवनको बार्दली र कहिले दुई कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षिका दीक्षा शर्माले बताए ।

हावाहुरीले उडाएको कक्षाकोठासँगैको एककोठे भवनसमेत भूकम्पले चिरा पारेका कारण जोखिम मोलेर अध्ययन/अध्यापन गराउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । बाल विकास देखि ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा जम्मा ४३ विद्यार्थी छन् । विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button