पर्बतमा सामुदायिक विद्यालयलाई २४ रोपनी जग्गा सहयोग

पोखरा न्यूज – ०१, जेठ। सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ ।

तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गरेका छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले स्थानीय दुई विद्यालयको भौतिक पूर्वाधारलगायत दिगो आम्दानीका लागि आफ्नो २४ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

गुरुङले जन्मगाउँमा रहेका दुई सामुदायिक विद्यालयका लागि आफ्नो सबै खेतबारी प्रदान गरे । फलामखानी आधारभूत विद्यायलाई १० रोपनी र मदन आश्रित माध्यमिक विद्यालयलाई १४ रोपनी जग्गा प्रदान गरेका हुन् ।

जिल्लाको विकट गाउँमा रहेका यी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आयआर्जन गर्न सकिने खालका फलफूल, जडीबुटी वा रुखबिरुवा र घाँस बिक्री गरेर आम्दानी गर्न सकुन् भनेर आफ्नो खेत, बारी र खरबारी तथा वनसमेत विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए ।

हाल रूपन्देहीको मणिग्राममा बस्दै आउनुभएका जग्गादाता गुरुङले शिक्षा क्षेत्रको विकास भए मात्र समाज समृद्ध हुने ठानेर विद्यालयका लागि जग्गा प्रदान गरेको जानकारी दिए।  पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका गुरुङले आफू जन्मेका गाउँका विद्यालयमा गुणस्तरीय पढाइ सञ्चालन गरी स्थानीयवासीलाई गाउँमै बस्ने वातावरण सिर्जना होस् भनेर जग्गा प्रदान गरेको बताए  ।

यसैबीच विद्यालयलाई जग्गा र नगद उपलब्ध गराएको तथा गाउँको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जग्गादाता गुरुङलाई दुवै विद्यालयले मङ्गलबार सम्मान पनि गरेका छन् । कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गुरुङले जग्गाको लालपुर्जा हस्तान्तरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button