कास्कीमा ६५ हजार बिरुवा वितरण गरिँदै

पोखरा न्यूज – ०१, जेठ । कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो ।

चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार मसान्तभित्र कृषकले आ–आफ्ना खेतबारीमा बिरुवा सारिसक्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । “कृषकको चाहनाअनुसार उहाँहरूले के के जातका फलफूल लगाउन चाहानुहुन्छ, हामीले वडा कार्यालयमार्फत् निवेदन माग गरेका छौँ”, उनले भने, “जग्गामा बढ्दै गएको अम्लीपनको निवारणका लागि गाउँपालिकाभित्र ५८५ बोरा कृषि चुन निःशुल्क वितरण गरिसकिएको छ ।”

गाउँपालिकाले कृषकलाई वितरण गर्नका लागि धनकुटा पाख्रीबासबाट पाँच हजार एबोकार्डो, दुई हजार सुन्तलाका बिरुवा ल्याएको छ । त्यस्तै १० हजार कुरिलो, चार हजार लप्सी, १० हजार तेजपत्तालगायतका बिरुवा गाउँपालिकाको नर्सरीबाटै उत्पादन गरेको उनले जानकारी दिए । उत्पादनका माध्यमबाट सर्वसाधारणको आयआर्जनमा वृद्धि गर्ने गाउँपालिकाको लक्ष्य रहेको उल्लेख गर्दै अध्यक्ष कुँवरले त्यसका लागि स्थानीयवासीको जागरुकता अपरिहार्य भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button