पोखरामा मिडिया काउन्सिल विधेयकको विरोध

पोखरा न्यूज – ०१, जेठ । नेपाल पत्रकार महासङ्घ कास्कीले सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ । विधेयकका सम्बन्धमा छलफल गर्न महासङ्घ कास्कीद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा स्वतन्त्र प्रेसविरुद्ध विधेयक आएको भन्दै महासङ्घ केन्द्रको निर्णयअनुरुप विरोध कार्यक्रम सञ्चालन गर्ने महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

उनले संविधानको मर्म र भावना विपरीत स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने किसिमबाट विधेयक आएको भन्दै प्रेस विरोधी प्रावधान हटाइनुपर्ने धारणा राखे । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिताको व्यावसायिक मर्यादा विपरीत विधेयक आएको बताउँदै मिडिया काउन्सिल सरकार मातहत हुन नहुनेमा जोड दिए ।

प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले लोकतन्त्र एवम् प्रेस स्वतन्त्रता एकापसका परिपूरक भएको उल्लेख गर्दै सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पूर्ण स्वतन्त्र प्रेसको पक्षमा हुनुपर्ने बताए । पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीले नेपालका राजनीतिक पार्टीहरुले सत्तामा रहँदा र बाहिर रहँदाको प्रेसलाई हेर्ने दृष्टिकोण फरक रहेको धारणा राखे  । स्वतन्त्र प्रेसको रक्षाका लागि मिडिया काउन्सिल गठनविरुद्ध सम्पूर्ण सञ्चारकर्मी एकताबद्ध बन्नुको विकल्प नभएकामा उनको जोड थियो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम राना, महासङ्घ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले स्वतन्त्र प्रेसको आवश्यकता सम्बन्धमा आ–आफ्ना  धारणा राखेका थिए  । पत्रकार महासङ्घको कास्कीको सभाहलमा आयोजित कार्यक्रममा नागरिक समाज, सुरक्षाकर्मी र पत्रकारसङ्घ आबद्ध विभिन्न सङ्घसंस्था एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button