गण्डकी प्रदेशका १ सय १० वटा पर्यटकीय गन्तव्य सार्वजनिक

पोखरा न्यूज – ०१, जेठ । नेपाल सरकारले केही समय अघि देशभर बाट एक सय वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्यक जिल्लाका १०/१० वटा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी हालै सार्वजनिक गरेको हो ।

पर्यटन प्रबर्द्धन हुने गरी पर्यटनको पुर्वाधार विकासमा प्रदेश सरकारले बजेट समेत विनियोजन गर्ने भएको छ । जिल्ला समन्वय समिति, पर्यटन व्यवसायी, प्रदेश सांसद, गाउँपालिका, महानगर, स्थानीय तहका जनप्रतिनिधिहरू एवं सरोकार पक्ष सँगको छलफल र अन्तरक्रियाबाट प्रदेशका पर्यटकीय गन्तव्यहरुको छनौट गरिएको गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरुको संग्रह (पुस्तक) सम्पादन मण्डलका एक सदस्य तुलसीराम शर्माले बताए ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहदा उक्त पर्यटकीय गन्तव्यले घोषणा हुनुले पर्यटन प्रर्बद्धन हुने अपेक्षा गरिएको छ । घोषणा गरिएका पर्यटकीय गन्तव्यको पर्यटनको पुर्वाधार निर्माणमा केही रकम विनियोजन गरीने भएको मन्त्रालयले जनाएको छ । आन्तरिक पर्यटन वर्ष सन् २०१९ मा १५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ यस बर्ष एक सय १० वटा पर्यटकीय गन्तव्यहरु पहिचान गरी घोषणा गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

उनका अनुसार १५ लाख आन्तरिक पर्यटन बर्षमा भित्राउने जस मध्य ५० प्रतिशत प्रदेशको नयाँ गन्तव्यहरुमा पुग्ने वातावरण तयार गर्ने र पर्यटन उद्योगमा लगानीका अवसर बढाउने लक्ष्य राखिएको छ । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएकोले पर्यटनबाट हुने आयआर्जन तथा अन्य लाभलाई गरिब तथा विपन्न बर्गसम्म पुर्याउन सहज वातावरण सृजना गर्ने, नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रबर्द्धन र विकास गर्ने मन्त्री लम्सालले जनाए ।

प्रदेशले घोषणा गरेका कास्कीको पर्यटकीय गन्तव्यहरु फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगातका तालहरु, विन्ध्यवासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेस क्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, गुफाहरु (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरु (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठुलाकोट) र काहुँडाँडा रहेका छन् ।

त्यसै गरी मनाङका पर्यटकीय गन्तव्यहरुमा तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा र तिव्वतियन खम्बाको बंकर रहेका छन् । मुस्ताङका पर्यटकीय गन्तव्यहरुमा मुक्तिनाथ तिर्थस्थल, कागवेनी तिर्थस्थल, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरवार र गुफाहरु, धौलागिरी हाईस फल, लियोपार्ड क्याप(ठिनी), जोमसोम गाँउ र टिटि ताल रहेकाछन्।

बाग्लुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाँइघाट झर्ना रहेकाछन्। म्याग्दीका पर्यटकीय गन्तव्यहरुमा गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्र्के धुरी, धौलागिरी वेश क्याप, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानी रहेकाछन्।

पर्वतका पर्यटकीय गन्तव्यहरुमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेकाछन् । स्याङजाका पर्यटकीय गन्तव्यहरुमा शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, सातौं चण्डीथान, गहैकालिका, अन्दाअन्दी, छाया क्षेत्र (छुयाङछ्याङदी) राम्दीधाम र मीर्मी सेदिवेणि उच्च तथा स्टिमर यात्रा रहेकाछन्।

लमजुङको पर्यटकीय गन्तव्यहरुमा लमजुङ दरबार,राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी( गोर्खा र लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन्। गोर्खाका पर्यटकीय गन्तव्यहरुमा गोर्खा दरवार र गोर्खा संग्राहलय, मनाकामना मन्दिर र केलवकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपार्क र लारपार्क (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनासुलु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा र लिगलिगकोट रहेकाछन्।

नवलपुरका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवि, कैलास पर्वत, घुमाउरीघाट(कामधेनु क्षेत्र), लोसेधारा, कैशाल आश्रम, शास्वत धाम, अकलादेवि (डेडगाउँ) र मन्यविन्दु रहेकाछन्। तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दीपुर, देवघाटधाम, ढोरवराही, छाप्दी बराही, व्यास गुफा(पर्यटन क्षेत्र), घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर– बुढी दवता मन्दिर आँधिमुल बाराही र र्मिलुङकोट रहेकाछन्।

त्यसै गरी केही साहासिक पर्यटकीय गन्तव्यहरु समेत सार्वजनिक गरिएको छ । प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ‌¥याफटिङ, घोडाचढी, स्क्इिङ, बन्जीजम्प, साहासिक पिङ (स्विङ), हर्ट एयर वेलुनिङ र जंगल सफारी लगायतका रहेका छन्।

गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुको घोषणा भएसंगै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा गण्डकी प्रदेशको प्रचार प्रशार भइ यसको महत्व बढ्ने र विकास हुने, गण्डकी प्रदेशमा आउने पर्यटकको संख्या र उनीहरुको बसाइ अवधि बृद्धि हुने, गण्डकी प्रदेशमा स्थानिय उत्पादन तथा व्यपार व्यवसायमा बुद्धि हुने, रोजगार सृजना हुने, पयृटन उद्योगमा लगानीका अवसर बढुने, दिगो विकास लक्ष्य प्राप्तीका लागि सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button