कञ्चनजङ्घा आरोहणका क्रममा २ भारतीयको मृत्यु

पोखरा न्यूज –०२, जेठ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताए । उनका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् ।

आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए । चुचुरोमा पुगेर फर्कदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ । आरोहण दलका सदस्यका अनुसार झण्डै आठ हजार उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवैको मृत्यु भएको बताइएको छ ।

यसैबीच बुधबार राति ८ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि एक जना पर्वतारोही रोडियो फ्रान्सो भिरानो भने सम्पर्कविहीन भएका छन् । अहिले सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा शव तल ल्याउने प्रयास भइरहेको छ । कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ । ठाडो उकालो भएकाले कञ्चनजङ्घाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ । त्यसैले मौसममा अलिकति फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्ने जानकार बताउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button