गोरखानाथ मन्दिरमा रोट महोत्सव शुरु

पोखरा न्यूज – ०४, जेठ । नेपालको प्रसिद्ध शक्तिपिठका रूपमा परिचित गोरखानाथ मन्दिरमा १६औँ सवा लाख रोट महोत्सव आजदेखि शुरु भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै यहाँको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको हो ।

मन्दिरमा दैनिक रूपमा रोट चढाउने प्रचलन रहे पनि विगत १६ वर्षदेखि यसलाई महोत्सवकै रूपमा अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्रका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । आजदेखि ११ दिनसम्म चल्ने महोत्सवमा सवा लाख रोट गुरु गोरखनाथलाई चढाइने उनले बताए ।

गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ । रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने उनले बताए तत्कालीन नेपाल एकीकरणका समयमा सेनालाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलागेर लामो समयसम्म लडाइँ लड्न सकेको भन्ने भनाइ शिलालेखमा पाइन्छ ।

“एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो”, संयोजक अकेलाले भने , “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” सानो–सानो आकारमा तयार गरिने रोटलाई नाथ प्रजातिका व्यक्तिले शुद्व भई मन्त्र जप गरी बीचको भाग उठाएर बनाइएको हुन्छ ।

रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायतका सबै सुविधा निःशुल्क व्यवस्था गरिएको अकेलाले जानकारी दिए  । भक्तजनका लागि भजनकीर्तन गर्न समेत विशेष ठाउँको व्यवस्था गरिएको छ भने रोट पकाउन दाउरालगायतको विशेष व्यस्थापन गरिएको उनले बताए ।

गोरखनाथ गुफा परिसरमा हुने महोत्सवका अवसरमा भजनकीर्तन, चुडा नृत्यसमेत हुने जनाइएको छ । महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्न भारतलगायतका देशका विभिन्न जिल्लाबाट ४०० भन्दा बढी झक्तजन शुत्रबार साँझ नै आइसकेका उनले जानकारी दिए ।

महोत्सवको पहिलो दिन आज बिहान सदरमुकामको बसपार्कदेखि निकालिएको कलश तथा रथयात्रा गोरखा दरबारको गोरखनाथ गुफासम्म पुर्‍याइएको थियो । विभिन्न कला, संस्कृति र पहिचान झल्कने झाँकीसहितको र्‍यालीसमेत निकालिएको थियो । महोत्सवमा एक लाख श्रद्वालु भक्तजनले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button