मुस्ताङको लोमान्थाङमा महोत्सव हुने

पोखरा न्यूज – ०५, जेठ । मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय स्थल लोमान्थाङ यही जेठ १६ गते देखि महोत्सव हुने भएको छ ।

लोमान्थाङको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले “कृषि, खेलकुद, संस्कृति, गुफा अनि दरबार ,प्रथम लोमान्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार ” भन्ने मूल नाराका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

लोमान्थाङ गाउपालिका र अन्नपुर्ण संरक्षण क्षेत्र, इलाका संरक्षण कार्यालय लोमान्थाङको संयुक्त आयोजनामा यहि ज्येष्ठ १९ गते सम्म लोमान्थाङ १ झोङ गुफामा हुने उक्त महोत्सवमा कृषि, हस्तकला, खाना उत्सव लगायतका १७ वटा स्टलहरु रहने भएको लोमान्थाङ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुशीलकुमार अर्यालले बताए । ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा उपल्लो मुस्ताङको ऐतिहासिक पर्व तिजी मेलाको समेत अवलोकन गर्न पाउने उनले जनाए ।

ऐतिहासिक रुपमा परिचित लोमान्थाङमा पर्यटकको बसाइ लम्ब्याउन, लोमन्थाङ गउपालिका भित्र रहेका पर्यटकीय गन्तव्यहरुको टुरिजम सर्किटको रुपमा विकास गरी पर्यटनको माध्यमबाट स्थानियको जिवनस्तर उकास्न उक्त महोत्सवले थप मद्धत पुग्ने अर्यालले विश्वास लिएका छन् । महोत्सवमा याकमा सवार, मौलिक घोडादौड प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, कोरला नाका भ्रमणको अवसर, होर्तो प्रतियोगिता, तिर हान्ने प्रतियोगिता, स्थानिय खानाको खाना उत्सव, विविध सांस्कृतिक कार्यक्रम लगायतका आकर्षणको रुपमा रहेको उनले जनाए ।

 

त्यसै गरी महोत्सवले गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमर्ण बर्ष २०१९ लाई सफल पार्न तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमर्ण बर्ष २०२० लाई समेत सफल पार्न टेवा पुग्ने भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले बताए । उक्त महोत्सवको उद्धघाटन नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने सांसद बिष्टले बताए । उनका अनुसार समापन भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम तय गरिएको छ । महोत्सवलाई सफल पार्न प्रदेशसरकारबाट पनि सक्दो सहयोग गर्न आफुले पहल गरेको उनले बताए । सांसद विष्टले महोत्सव स्थलसम्म जाने सडक मार्गको पहुच सहज पारिएको जनाए ।

महोत्सवमा जाने पर्यटकहरुले बाटोको कारणले अप्ठ्यारो नहुने सांसद बिष्टले प्रष्ट पार्दै लोमान्थाङको करिब ८० प्रतिशत ग्रावेलिङको काम सकिएको जनाए । विश्व कै सम्पदा सुचिमा सुचिकृत उपल्लो मुस्ताङको लोमन्थाङमा यातायातको पहुँच जोडिएकाले अपेक्षा अनुसारको पर्यटक भित्रने स्थानियले अपेक्षा गरेका छन्। महोत्सव सफल पार्न गाउपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्टको संयोजकत्वमा २५ सदस्य मूल समिति गठन गरिएको छ ।

उक्त महोत्सवमा जानको लागि पोखराबाट दुई दिनको सडक यात्राबाट पुग्न सकिन्छ । पहिलो दिनमा मुस्ताङको जोमसोममा बास बसे पछि दोश्रो दिनमा महोत्सव स्थल लोमान्थाङमा पुग्न सकिन्छ । लोमन्थाङमा हाल करिब २० वटा होटलहरु रहेका छन भने होत्सवको अवसरमा धेरै पर्यटकहरु भएमा आयोजकले स्थानिय घर घरमा होम स्टेको रुपमा व्यबस्थापन गर्ने तयारी गरेको सांसद विष्टले जनाए ।

महोत्सव सम्पन्न गर्न करिब १७ लाख ९६ हजार खर्च लाग्ने भएको छ भने २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा करिब २ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button