देशभरको कुखुरापालन व्यवसाय सङ्कटमा !

पोखरा न्यूज – १५ जेठ ।  देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला बिक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ वटा ह्याचरी छन् । तीमध्ये १४ वटा लेयर्स ह्याचरीले सातामा एक लाख ९० हजार चल्ला उत्पादन गर्छन् भने २५ वटा कोइलर (रातो ब्वायलर)ले चार लाख चल्ला उत्पादन गर्छन् ।

अन्य ब्वायलर ह्याचरीले ३४ लाख चल्ला उत्पादन गर्ने पोख्रेलको भनाइ छ । ती चल्लामध्ये ब्वायलरको लागत मूल्य प्रतिगोटा रु ५५ पर्छ । तर बजारमा रु ३० मा बिक्न कठिन छ । रु ९५ पर्ने लेयर्स कुखुराको चल्ला रु ६० मा बिक्न मुस्किल छ भने कोइलरको चल्ला लागत मूल्य हाराहारी रु ३० मा बिक्न कठिन भएको पोख्रेलले बताए ।

उत्पादन बढेसँगै खपत नहुँदा चल्ला बिक्न मुस्किल भएको व्यवसायीहरु बताउँछन् । चल्ला नबिकेपछि कतिपयले खाल्डो खनेर पुर्न बाध्य भएका छन् । कतिपयले अनौपचारिक रुपमा भारतीय व्यवसायीसँग मिलेर भाले लागेको अण्डा र चल्ला निर्यात गरेका छन् । भारतमा भन्दा यहाँ चल्लाको मूल्य सस्तो भएपछि सातामा करिब पाँच लाख चल्ला र एक लाख अण्डा भारत जाने गरेको जनाइएको छ ।

व्यवसायीहरुले भाले नलागेको अण्डा बजारमा बिक्रीसमेत गर्ने गरेको बुझिएको छ । पोख्रेलका अनुसार २०७२ सालमा भन्दा ७८ प्रतिशत बढी ब्वायलर चल्ला, शत्प्रतिशत लेयर्स चल्ला र दुई सय प्रतिशत कोइलर चल्ला बढी उत्पादन भएको छ ।  गत सालभन्दा २५ प्रतिशत बढी ब्वायलर, ४० प्रतिशत बढी लेयर्स र दोब्बर कोइलर चल्ला उत्पादन भएको छ । असारसँगै १० लाख बढी लेयर्स चल्ला उत्पादन हुँदैछ । हाल फार्महरुमा ३० लाख ब्वायलर प्यारेन्ट, एक लाख ५० हजार लेयर्स प्यारेन्ट र ५० हजार कोइलर चल्ला रहेका छन् ।

अण्डाको उत्पादन बढेपछि माग हुन नसक्दा बिक्न कठिन भएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सङ्घले तोकेको मूल्यमा अण्डा बिक्न सकेको छैन ।

हाल अण्डाको लागत मूल्य रु १० पर्ने भए पनि बिक्री मूल्य सरदर रु सात मात्र रहेको छ । देशका विभिन्न ठाउँमा कृषकको अण्डा बिग्रिएर गाड्नुपर्ने अवस्था छ । उच्च तापक्रमका कारण लामो समय भण्डारण गर्न नमिल्ने भएकाले बिक्रीका लागि कुर्दाकुर्दै धेरै अण्डा खेरा फाल्नु परेको कँडेलको भनाइ छ ।

दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । यो गतवर्ष भन्दा ४० प्रतिशत बढी भएको उनको भनाइ छ । देशभर लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या सात हजारभन्दा बढी छ । हाल सङ्घले फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २५० र सानो रु १८० तोकेको भए पनि सो मूल्यमा बिक्री हुन नसकेको सङ्घका केन्द्रीय सचिव मदन पोख्रेल बताउछन् ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट सरकारको नीतिका कारण व्यवसाय सङ्कटमा पुगेको दाबी गर्नु हुन्छ । हालै मात्र देशका विभिन्न ठाउँमा बर्डफ्लु देखापर्दा तत्काल नियन्त्रणमा लिन नसक्दा समस्या उत्पन्न भएको हो । मकवानपुरमा बर्डफ्लु देखिएको एक महीनापछि मात्र सो क्षेत्र नियन्त्रणमा लिने काम भएको भन्दै यसले ठूलो क्षति पुर्याएको विष्टको भनाइ छ ।

संवेदनशील विषय भएर पनि पोल्ट्रीसँग सम्बन्धित विषयलाई हल्का रुपमा सरकारी निकायहरुले लिँदा दीर्घकालीन प्रभाव देखिएको बिष्ट बताछन् । यस क्षेत्रमा लगानी बढ्दो रहेको भन्दै उनले पोल्ट्रीसँग सम्बन्धित सबै क्षेत्रमा गरी रु एक खर्ब २५ अर्ब हाराहारी लगानी पुगेको र त्यसको आधा बैंकिङ लगानी रहेको विष्टले बताए  । आफ्नो मात्र यस क्षेत्रमा रु छ अर्ब नाघेको भन्दै उहाँले रु चार अर्ब ५० करोड थप्दै गरेको बताए ।

पछिल्लो समय दानाको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशत बढेसँगै कृषकले चल्ला र दाना उधारो पाउन सकेका छैनन् । रोगका कारण हच्किएका साना किसानले व्यवसाय गर्न नगद लगानी गर्नुपर्ने भएपछि कुखुरा पाल्न छोड्ने क्रमसँगै व्यवसायमा थप सङ्कट देखापरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button