अपर मुस्ताङमा पर्यटनका सम्भावनाको खोजी

पोखरा न्यूज – १७, जेठ ।  अनौठो भू-स्वरुप भएको मुस्ताङ घुम्न स्वदेशी र विदेशीको लर्काे लाग्न थालेको छ । पोखरा मुस्ताङ जाने मुख्य मार्ग हो । यहाँका पर्यटन व्यवसायीले दशकौंदेखि पर्यटकलाई मुस्ताङ र अपर मुस्ताङ पठाउँदै आएका छन् ।

अरुलाई मुस्ताङ सिफारिस गर्ने पर्यटन व्यवसायीहरु आफैं यो साता मुस्ताङ यात्रामा निस्किए । नाट्टा गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, टान, रेबान, एनएमए, नारा, ना लगायतका संस्थाका प्रतिनिधि सहितलाई मुस्ताङ यात्राको चाँजोपाँजो मिलाएको हो । ४२ सदस्यीय टोलीलाई जेठ ११ गते कास्कीबाट निर्वाचित प्रदेश सांसद राजीव पहारी र मुस्ताङबाट निर्वाचित इन्द्रधारा विष्टले बिदाइ गरेका थिए ।

पहिलो दिन म्याग्दी पुगेर टोलीले पर्यटन प्रवर्द्धन बारे त्यहाँका होटल व्यवसायीसँग छलफल गर्यो । म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले म्याग्दीमा पर्यटकको बसाइ निकै छोटो हुने भएकाले व्यवसाय धराशायी बन्दै गएको चिन्ता जनाए । उनले भने, ‘तातोपानी, मालिका, टोड्केको धुरी, मल्लाज, गलेश्वरधाम जस्ता आकर्षण भए पनि हामीले यी सम्पदा प्रचारप्रसार गर्न सकेनौं । पर्यटन यहाँ रोकिएनन् ।’ उनले यी स्थानलाई प्याकेजमा समावेश गरी म्याग्दीको प्रवर्द्धनमा सघाउन पोखरेली व्यवसायीलाई आग्रह गरे ।

दोस्रो दिन जोमसोम हुँदै टोलीले कागबेनी र मुक्तिनाथ भ्रमण गरेको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि भारतीय पर्यटक उल्लेख्य मात्रामा मुक्तिनाथ आउन थालेको बताए । उनले मुक्तिनाथ यो प्रदेशकै एक परिचय भएको विचार राखे ।

१३ गते पर्यटन व्यवसायीको टोली कोरला नाका पुग्यो । चीनतर्फको सिमानामा भन्सार कार्यालय लगायतको निर्माण भए पनि नेपालतर्फ काम भएको छैन । नाट्टा गण्डकी अध्यक्ष सन्तोष पोखरेल कोरला नाका खोल्ने भाषण निकै सुने पनि नेपालको तयारी नभएको देख्दा चिन्तित भएको बताए । उनले भने, ‘सरकारले पूर्वाधार तयार गरी चाडै नाका खोल्नुपर्छ । नेपाली चीन व्यापारसँगै पर्यटनका लागि पनि यो ठाउँ अनुपम छ ।’

कोरालाबाट फर्केको टोलीले छोसेरमा रहेको ऐतिहासिक झोङ गुफा अवलोकन गर्यो  । १०८ झोङ गुफा ५ तले छ । यहाँ कुनै बेला खम्पा विद्रोही बस्ने गरेको स्थानीय बताउँछन् । सोमबार लोमान्थाङका होटल व्यवसायीसँग पर्यटन प्रवद्र्धनबारे अन्तक्र्रिया गर्यो । होटल व्यवसायी संघ लोमान्थाङ अध्यक्ष छेवाङ जिग्मे विष्टले विदेशीलाई अपर मुस्ताङ प्रवेशमा लिइने शुल्क घटाउन माग गरे ।

विदेशी पर्यटकले अपर मुस्ताङ प्रवेशका लागि सरकारलाई ५ सय डलर र एक्यापलाई २ हजार २ सय शुल्क तिर्नुपर्छ । सरकारले लिएको ५ सय डलर १० दिनका लागि हो । थप समय बस्दा हरेक दिन ५० डलर तिर्नुपर्छ । अध्यक्ष विष्टले भन्छन्, ‘प्रवेश शुल्क चर्काे लिएर पर्यटक नआएपछि पर्यटन प्रवर्द्धनको अर्थ हुँदैन । प्रवेश शुल्क लिएर संस्कृति जोगिने होइन, युवालाई सचेत र रोजगारी बनाऔं ।’

कार्यक्रममा टान पोखरा अध्यक्ष हरि भुजेलले प्रवेश शुल्क घटाउने भन्दा गुणस्तरीय पर्यटनमा जोड दिन सुझाव दिए । सोमबारै टोलीलाई चराङमा गाउँपालिकाले स्वागत गरेको थियो । मंगलबार म्याग्दीको तातोपानी, गलेश्वरधाम हुँदै बागलुङको पञ्चकोट पुगेर टोलीले बागुलङ कालिका परिसरमा त्यहाँका व्यवसायीसँग छलफल गर्यो ।

बागलुङ पर्यटन विकास समितिसँगको सहकार्यमा भएको कार्यक्रममा बागलुङका मेयर जनकराज पौडेल, समितिका अध्यक्ष राजु खड्का, विभिन्न पार्टीका प्रतिनिधिले त्यहाँको पर्यटन व्यवसायको अवस्थाबारे प्रकाश पारेका थिए । भ्रमण कार्यक्रम संयोजक कुलचन्द्र शर्माले मुस्ताङ र आसपासका क्षेत्रको भ्रमण फलदायी रहेको भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button