बेनी–बरङ्जा सडकको स्तरोन्नति सम्पन्न

पोखरा न्यूज – १८, असार । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ ।

विसं २०६३ मा ट्र्याक मात्रै खोलिएको सो सडकको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नति गरिएको हो ।

सडक फराकिलो बनाउने, जमीनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन् । यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button