लमजुङ: ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार वितरण

पोखरा न्यूज – २१ , असार । लमजुङ बेँसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका किसानलाई मौरीका घार वितरण गरेको छ । नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई गोलासहित र खाली घार वितरण गरे ।

उनले घार वितरण गर्दै किसानको आयआर्जनमा टेवा पुग्ने बताए । व्यावसायिक मौरीपालक किसान बनाउनका लागि समेत मद्दत पुग्ने अपेक्षाले मौरीको घार वितरण गरेर आगामी दिनमा तालीमदेखि धेरै कुरामा सहयोग गर्ने नगरप्रमुख अर्यालले बताए ।

मौरीको घार पाएपछि नगरभित्रका किसान खुशी भएका छन् । वडा– २ भकुण्डेका किसान बुद्धिविक्रम शाहीले भने, “चार वटा माग गरेपछि दुई वटा पाए, यति भए पनि खुशी छु यसले व्यावसायिक रुपमा अगाडि बढ्न मद्दत पुग्छ ।” नगरभित्रका किसानलाई गोलासहितका मौरी घार ८०, गोला र खाली दुवै गरी ३३ तथा खाली मौरीका घार ११ वटा वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाका अनुसार वितरण गरिएका मौरी शेरना जातका छन् । वितरण गर्न बाँकी मौरीका घार केही दिनभित्रै वितरण गरिने भएको छ । प्रति गोलासहितको मौरीको घारलाई रु आठ हजार पाँच सय र खाली मौरी घारलाई रु तीन हजार ४०० मूल्य रहेको कृषि शाखाले जनाएको छ । शाखाका प्रमुख नवराज बरालका अनुसार नगरभित्रका किसानबाट गोलासहितका मौरीका घार पाँच सय ३९ र खाली मौरीका घार ४८१ को माग आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button