फेरी बढ्यो अण्डाको मूल्य, किसानले लागत मूल्य पाउन सकेनन् !

पोखरा न्यूज – २४, असार । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ । अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ ।

पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ । सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए । तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६० पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ ।

पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र रु एब अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ । दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने उनले बताए ।

गत बैशाखमा सङ्घले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button