स्याङ्जामा सामूहिक टिमुरखेती शुरु

पोखरा न्यूज – २८, असार । स्याङ्जा गल्याङ नगरपालिका– १० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको शुरुआत गरेका छन् । बाँदर, मृगलगायतका जङ्गली जनावरले लगाएको खेतीबाली आएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए ।

खेती नलगाएसँगै झाडी बनेको बारी भने यतिबेला किसानले फाँडेर चिटिक्क पारेका छन् । वडा कार्यालयले किसानलाई टिमुरखेतीका बारेमा जानकारी दिनुका साथै आवश्यक बिरुवासमेत उपलब्ध गराएपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् ।

भिरालेका ५० घर स्थानीयले देवीभञ्ज्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी साढे एक हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुरखेती शुरु गरेका हुन् । करीब एक हजार २०० टिमुरको बिरुवा लगाएको टेकबहादुर सिंजालीले बताए । बाँदर, मृग, दुम्सीलगायतका जनावरले अन्नबाली रहन नदिएपछि टिमुरखेती शुरु गरेको सिंजालीले बताए ।

सामूहिक टिमुरखेतीमा लागेकी लीला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुरखेतीमा लागेको बताइन । टिमुरखेतीको सम्भावना देखेर आफूहरु यस खेतीमा लागेको उनले बताए ।

अघिल्लो वर्ष वडामा ७०० टिमुरका बिरुवा परीक्षणका रूपमा लगाइएको र टिमुरका लागि चाहिने खालको उपयुक्त हावापानी भएकाले यस वर्षदेखि व्यावसायिकरूपमा समूह बनाएर शुरु गरेको कृषक लक्ष्मण शाहीले बताए । टिमुरखेतीका लागि गाउँमै नर्सरी बनाएर बिरुवासमेत उत्पादन गरिएको शाहीले बताए।

वडाध्यक्ष धुर्वप्रसाद शर्मा पङ्गेनीले वडालाई जैविक वडाका रूपमा विकास गर्न कृषिका माध्यमबाट अगाडि बढिएको बताए । युवालाई विदेश पलायन हुनबाट रोक्न सामूहिक टिमुरखेती, सामूहिक कागतीखेती, कुरिलोखेतीलाई समेत वडाले प्राथमिकता दिएको उनको भनाइ थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button