पोखरा नदीपुरको नारायणथानमा ११ करोड लागतमा बनेको आर्क वृज संचालनमा

दीननाथ बराल, पोखरा न्यूज – २८, असार । पोखरा महानगरपालिका वडा नम्बर ३ र ११ जोड्ने आर्क वृज  (पुल) संचालनमा आएको छ । पुलको निर्माण कार्य हालै सम्पन्न भएसंगै संचालनमा आएको पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहन बाँस्तोलाले बताए ।

११.६ मिटरको चौडाई र ८० मिटर लम्बाईको पुल निर्माण भएको अध्यक्ष बास्तोलाले बताए । करिब २० महिना अघि निमार्ण कार्य शुरु भएको पुल ११ करोड २३ लाखको लागतमा निमार्ण भएको उनले बताए । पुलको याक्सल १० टन रहेको क्षमता अध्यक्ष बाँस्तोलाले जनाए ।

पुलको फिनिसिङ अन्तर्गत ट्राफिक संकेत, बत्ति, रेलिङ, पानी व्यवसथापन लगायतका केही काम बाँकी रहेको अध्यक्ष बास्तोलाले बताए । परियोजना हिराचन मुक्तिनाथ जोईन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । पुलको आयु कम्तिमा ५० बर्ष  हुने बताइएको छ  ।

निमार्ण कार्य सम्पन्न भएसंगै पोखराको सेतीनदी वारपार गर्ने पोखराको महेन्द्रपुल, चाइनापुलको विकल्पमा समेत प्रयोग हुन सक्ने पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष रविन्सन प्रजुले बताए । केही महिनादेखि पोखरा-३ नदीपुरदेखि पोखरा-११ फुलबारी अर्थात मणिपाल हस्पिटल जानको लागि समेत अर्को बाटो जानु पर्ने अवस्था शुक्रबार देखि हटेको छ ।

पोखरामा निमार्ण भएको पुलहरु मध्ये यो पुल अत्यन्तै नयाँ संरचनामा स्टिल वृजको आधारमा निर्माण भएकोले आफुहरुले सोचे अनुसारको यसको आयु दिगो हुने अध्यक्ष प्रजुले बताए । दुई लेनको पुलसंगै पुलको पुर्व तथा पश्चिम क्षेत्रमा सडक निर्माण समेत भएको छ ।

कम्पनिका अध्यक्ष ओम हिराचनले पुल निर्माण भएसंगै केही दिन सवारी साधनहरुलाई चलाउन रोक्न खोजे पनि सवारी साधनहरु संचालनमा आएको बताए । उनले करिब एक हप्ता जसो धेरै भारवान क्षमताका सवारी साधनहरु संचालन नगर्दा राम्रो हुने बताए । हालै पुलमा ढलान कार्य सम्पन्न भएकोले हल्का र साना सवारी साधन संचालन हुँदा भने खासै असर नपर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button