नेपालमा पहिलो पटक कफिको सर्वेक्षण, पोखरामा तथ्याङ्क सार्वजनिक

दीननाथ बराल, पोखरा न्यूज – २९, असार । काभ्रेपलाञ्चोक, स्याङजा लगायतका जिल्लामा कफि उत्पादन बढी हुने गरेको छ । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ विभागले नेपालमा व्यावसायीक कफी खेती सर्वेक्षण २०७५/०७६ शुक्रबार पोखरामा नतिजा सार्वजनिक कार्यक्रम मार्फत काभ्रेपलाञ्चोक, स्याङजा, सिन्दुपालचोक लगायका जिल्लामा बढी कफि उत्पादन हुने गरेको जानकारी गराएको हो ।

प्रदेश नम्बर १, ३, ५ र गण्डकी प्रदेशमा बढी कफी उत्पादन हुने गरेको केन्द्रीय तथ्याङक विभागका निर्देशक डा. महेश कुमार सुवेदीले बताए । उनका अनुसार सबै भन्दा धेरै काभ्रेपलाञ्चोक जिल्लामा १ सय ४ दशमलव ३ हेक्टर क्षेत्रमा कफि खेती हुने गरेको छ । त्यसै गरी ललितपुरमा ९६.३ हेक्टर र स्याङजामा ९४.१ हेक्टर क्षेत्रफलमा कफि खेती हुने गरेको निर्देशक डा. सुवेदीले बताए । काभ्रेपलाञ्चोकमा २ सय २१ मेट्रिक्टन, स्याङजामा १ सय ५८ मेट्रिकटन, सिन्दुपालचोकमा १ सय ४१ मेट्रिक्टन कफि उत्पादन भएको उनले जनाए । काभ्रेपलाञ्चोकमा ९ सय ४३ जना, सिन्दुपालचोकमा ७ सय ५३ जना र स्याङजामा ७ सय ८ जना व्यवसायीक कफि कृषकको सङख्या रहेको निर्देशक डा. सुवेदीले बताए ।

केन्द्रिय तथ्याङक विभागले २०७४ वैशाख १ देखि २०७४ चैत मसान्तसम्म कफी खेतीसंग सम्बन्धित आर्थिक क्रियाकलापका आधार मानि नमुना छनौट विधिको प्रयोग गरी सर्वेक्षण गरेको हो । नेपालको ३२ जिल्लामा व्यवसायीक रुपमा कफि खेती हुने गरेको छ । ८ सय मिटर देखि १६ सय मिटर उचाइमा नेपालकोे मध्यपहाडी जिल्लाहरुमा कफी खेतीको लागि उपयुक्त क्षेत्र मानिने सुवेदीले जनाए ।

सार्वजनिक सर्वेक्षण अनुसार व्यावसायीक कफी खेती गर्ने कृषक/व्यवसायीहरु मध्ये  १६ प्रतिशतले १ रोपनी भन्दा कममा कफी खेती गरेकाछन भने ७१ प्रतिशतले १ रोपनी भन्दा बढी, ५ रोपनी भन्दा कममा ९ प्रतिशतले, ५ रोपनी भन्दा बढी र १० रोपनी भन्दा कममा ४ प्रतिशतले, १० रोपनी वा सो भन्दा बढी क्षेत्रफलमा कफि खेती गरेको पाइएको छ । ९६ प्रतिशत प्राङगारिक पद्धतिमा कफि खेति गरेको पाइएको छ भने ९ प्रतिशतले पार्म प्रमाणिकरण, ३४ प्रतिशतले सहकारी/कम्पनी प्रमाणिकरण र ५७ प्रतिशतले प्रमाणिकरण नै नगरी कफी खेतीगर्दै आएको पाइन्छ । मध्य पहाडी भागका गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ्ग, कास्की, गोरखा, स्याङ्गजा लगायत ३२ जिल्लाहरुमा व्यावसायिक कफी खेती गरिएको छ । मुख्यत अरविका वर्णको टिपिका र वर्वन जातका कफीको खेती गर्ने गरिएको छ ।

देशभरका ३२ जिल्लामा ६ हजार ३ सय ४६ कृषक/व्यवसायीहरुले व्यावसायिक कफीखेती गरेका छन भने ९ सय ७३ हेक्टरमा कफी खेती हुने गरेको छ । कृषक/व्यावसायीहरुले १ हजार ५ सय ७३.६ मेक्ट्रिक्टन कफी (फ्रेस चेरी) उत्पादन गरेको निर्देशक डा. सुवेदीले बताए । व्यावसायिक कफी खेतीमा १३ हजार ८ सय ७९ जना आवद्ध भएका छन भने जस मध्ये  ६ हजार ७ सय ११ पुरुष र ७ हजार १ सय ६९ जना महिला रहेका छन्। कास्कीमा ९ सय ८५ जना कफि खेती गर्ने गरेका छन भने जस मध्ये  ४ सय ९२ पुरुष र ४ सय ९३ जना महिला कपि खेतीमा आबद्ध छन्। व्यावसायिक कफीखेती सर्वेक्षणबाट तलब ज्याला लिने (स्थायी कामदार) जम्मा १ सय १३ जना मात्र रहेका छन।

व्यावसायिक कफी खेतीमा करिब ५ करोड लगानीबाट चार गुणा अर्थात २० करोड कृषहरुले आम्दानी गर्न सफल भएका छन्। कृषकहरुले उत्पादन गरेको कफि बजारसम्म पुग्दा करिब ५० करोडको कारोबार हुने गर्छ । नेपालमा कफी खेतीबाट उत्पादित फ्रेस चेरीको बिक्रिबाट १५ करोड ४१ लाख आम्दानी भएको सवेक्षणले देखाएको छ । कास्की जिल्लामा कफी खेतीबाट उत्पादित फ्रेस चेरीको बिक्रिबाट १ करोड २३ लाख ९९ हजार आम्दानी भएको देखिन्छ । कफी खेतीसंग एकिकृत रुपमा लगाईएको अन्य बालीबाट बार्षिक ४ करोड ५५ लाख ४ हजार भएको पाइन्छ । छाहारी बोटबाट २ करोड ९४ लाख २९ हजार तथा घुसुवा बालीबाट १ करोड ६० लाख ७५ हजार आम्दानी भएको छ । काभ्रे जिल्लामा कफीखेतीसंग एकिकृत रुपमा लगाईएको छाहारी बोटबाट १७ लाख ९९ हजार तथा घुसुवा बालीबाट ८ लाख ५ हजार आम्दानी भएको छ ।

व्यावसायिक कफीखेतीमा १ करोड ४६ लाख १३ हजार खर्च भएको देखिन्छ भने कास्की जिल्लामा ३१ लाख २५ हजार खर्च भएको देखिन्छ । बिरुवा खरिदमा २५ लाख ६३ हजार खर्च भएको थियो भने कास्की ४ लाख ५ हजार खर्च भएको छ, मल खरिदमा २८ लाख ७२ हजार खर्च हुँदा कास्की ७ लाख १५ हजार खर्च भएको छ । अन्य खरिदमा ९१ लाख ७७ हजार खर्च हुँदा कास्कीमा ६ लाख २७ हजार खर्च भएको छ । तलव ज्यालामा २ करोड ७९ लाख ३७ हजार खर्च भयो भने कास्की १४ लाख ६४ हजार खर्च भयो । कफीखेतीको लागि पूँजिगत खर्च १ करोड ७० लाख ८४ हजार गरिएको देखिन्छ ।

कफीखेती सर्वेक्षणबाट कृषक/व्यावसायीहरु मध्ये जम्मा २.८% व्यावसायीरुले मात्र कफीखेती व्यवसायका लागि ऋण लिएको पाईएको छ कास्कीमा १०.८% ले ऋण लिएका छन्। व्यावसायिक कफीखेती गर्ने कृषक/व्यावसायीहरु मध्ये ११% सञ्चालकहरुले मुख्य आयको श्रोत कफीखेती नै रहेको छ भने कास्कीमा ९% रहेको छ ।

सर्वेक्षणमा कफीखेती गर्ने कृषक/व्यवसायीहरुबाट कफीखेती प्रवर्द्धनका लागि सरकारले प्राथमिकताको आधारमा विभिन्न काम गर्नु पर्ने भनि कृषकहरुले सुझाव दिएको निर्देशक डा. सुवेदीले बताए । गुणस्तरीय प्राविधिक सेवा सहज रुपमा उपलब्ध गराइदिनु पर्ने, सिंचाईको सुबिधा उपलब्ध गराईदिनु पर्ने, ब्यवसाय प्रवर्द्धनका लागि तालिम र अध्ययन भ्रमणको व्यवस्था गरिदिनु पर्ने ,उत्पादित कफी बिक्रीका लागि बजारको ब्यवस्था गरिदिनु पर्ने, ब्यवसाय प्रवर्द्धनका लागि अनुदान तथा सहयोग उपलब्ध गरिदिनु पर्ने, सहज तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिनु पर्ने , विउ, बिरुवा, मल छाहारी बोट, गुणस्तरीय औषधी सहज् तथा शुलभ रुपमा उपलब्ध गराई दिनुपर्ने, आधुनिक मेशिन औजारको ब्यवस्था गरि दिनुपर्ने, उचित मूल्य निर्धारण गरिनुपर्ने र विमाको व्यवस्था गरिनुपर्ने सुझाव कृषकहरुले राखेका हुन्।

नेपालमा जम्मा ५५ वटा कफी नर्सरीहरु रहेका सर्वेक्षणले देखाएको छ । कफी नर्सरीबाट ७ लाख २० हजार १ सय १० बिरुवाहरु उत्पादन तथा ३ लाख ९८ हजार ५ सय बिरुवाहरु बिक्री भएको तथ्याङकमा उल्लेख गरिएको छ । एक बर्ष मुनिका ३ लाख ७५ हजार ३ सय ६० कफीका बिरुवाहरु रहेको र उत्पादन गरी ९२ हजार ४ सय ५० बिरुवाहरु बिक्री गरेको देखिन्छ । १ देखि २ बर्षसम्मका बिरुवाको उत्पादन ३ लाख २२ हजार ७ सय ४० तथा बिक्री २ लाख ८४ हजार ८ सय ५० देखिन्छ । २ देखि ३ बर्षसम्मका बिरुवाको उत्पादन २२ हजार १० तथा बिक्री २१ हजार २ सय देखिन्छ । नर्सरीहरुमा चालु खर्च १५ लाख भएको देखिन्छ ।

व्यावसायिक कफी खेती सर्वेक्षण २०७५ प्रयोजनको लागि व्यावसायिक कफी खेती भन्नाले कृषक/व्यावसायीले अर्थोपार्जनका उदेश्यले बगैंचाको रूपमा वा छरिएर रहेका कम्तिमा ५० बोट (फलदिने वा फल नदिने) वा सो भन्दा बढीको संख्यामा कफीका बोट बिरूवा लगाई कफी उत्पादन गरी बिक्री वितरण गर्ने गरी सञ्चालित कृषि कार्यलाई जनाउँदछ । पहाडी क्षेत्रमा धन, मकै, कोदो लगायतका वाली लगाउनु भन्दा कफी खेती गर्दा उत्पादनको तुलनामा दोब्बर तथा तेब्बर मुनाफा लिन सकिने राष्ट्रिय चिया तथा कफि विकास बोर्डका क्षेत्रिय निर्देशक चन्द्र पुरीले बताए ।

जिल्ला कफि संघ कास्कीका अध्यक्ष विन्दुचन्द्र बरालले कास्कीमा कफी खेतितर्फ कृषक विस्तारै आकर्षित हुन थालेको जनाए । गण्डकी प्रदेश निती तथा योजना आयोगका सदस्य डा. बिष्णुराज बराल, कृषि निर्देशनालयका महानिर्देशक डा. शान्ता कार्की, विभागका अधिकृत निराजन शर्मा, तथ्याङक कार्यालय पोखराका निमित्त प्रमुख शिवराज बराल लगायतले नेपालको पहाडी क्षेत्रमा उत्पादन भएको कफि गुणस्तरिय हुने हुदा बजारको कुनै अभाव नहुने विश्वास व्यक्त गरेकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button