म्याग्दी र बागलुङ जोड्ने पुलको निर्माण सम्पन्न, २ घण्टाको बाटो अब २ मिनेटमा !

पोखरा न्यूज – ३०, असार ।  झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ/ दुई घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरिएको हो । रु एक करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको छ । पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले गत माघ महीनादेखि निर्माण शुरु गरेको सो पुल निर्धारित मितिभन्दा नौ महीनाअघि नै सम्पन्न भएको जानकारी दिए ।

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पञ्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायत गाउँका हजारौँ मानिसलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी अशोक घिमिरेले बताए ।

बागलुङको पञ्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने बाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन् ।

पुल निर्माणपछि कृषकलाई मात्रै होइन, विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउने चनौटेका विद्यार्थीहरु अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन् । त्यसैगरी शिक्षक र कर्मचारीलाई पनि निकै सुविधा पुगेको स्थानीय भीम पौडेलले जानकारी दिए ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दाबढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button