पर्वतमा लोप हुँदै परम्परागत घुमाउने घर

पोखरा न्यूज – ३१, असार ।  पर्वतमा परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् ।

ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका हुन् ।

केही वर्षअघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक/दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा शहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् । घुमाउने घर छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने भएका छन् ।

केही वर्षअघिसम्म गाउँमा अधिकांशका घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीका बासिन्दा हेमराज सापकोटाले बताए । “एक सय वर्षभन्दा पहिले बनेका घर अहिले लोप भइसकेका छन्”, सापकोटाले भने, “भएका केही घर पनि उपयोगमा छैनन्, जीर्ण भइसकेका छन् ।” तर यस्ता घर जुनसुकै मौसम र जुनसुकै स्थानमा पनि बस्नका लागि भने उपयुक्त हुने उहाँको बुझाइ छ ।

खर उत्पादन हुने खरबारीमा अहिले रुखबिरुवा भरिएकाले खरको अभाव हुँदा मानिस उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेपछि घुमाउने घर लोप हुँदै गएको स्थानीयवासी रामकृष्ण सापकोटाले बताए । जस्तापाताको व्यापक प्रयोग, सुलभरूपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्षका लागि काम गर्ने हुनाले घुमाउने घर निर्माण गर्न तथा निर्माण गरिएका समेत उपयोगविहीन हुन थालेको उनले बताए ।

“विगत डेढ दशक अघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए, अहिले औँलामा गन्न सकिने छन्”, स्थानीयवासी वृद्ध चिन्तामणि सुवेदीले भन । अहिले खरले छाएका भन्दा ढुङ्गा र जस्ताले छाएका घर गाउँभरि बनेको उनले बताए । पछिल्लो समयमा भने गाउँगाउँमा पक्की घर निर्माण हुन थालेका छन् । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि र सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँलेहरुमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button