म्याग्दीमा ४१ प्रतिशत निजी आवास पुनःनिर्माण

सन्तोष गौतम, पोखरा न्यूज – ३१, असार । म्याग्दीमा ४१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ३२६ ले आवास पुनःनिर्माण सकेका हुन् ।

प्राधिकरणको जिल्ला आयोजना प्रमुख शिवराम गेलालले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेकामध्ये ३७९ ले दोस्रो किस्ता लगेको जानकारी दिए । पहिलो किस्ता लगेकामध्ये एकले अनुदान फिर्ता गरेका छन् भने ९३ अझै सम्पर्कमा छैनन् । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा गत वर्ष प्राधिकरणको कार्यालय स्थापना भएको र गत हिउँदमा स्थानीय तहहरुसँग सम्झौता भएपछि पुनःनिर्माणले केही गति लिएको हो ।

प्राविधिक आउनुअघि बनेका १४० घरका धनीलाई प्राधिकरणको पछिल्लो निर्णयअनुसार अनुदान उपलब्ध गराइने भएको छ । विसं २०७३ पुसमा इञ्जिनीयर परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिए पनि ८७२ लाभग्राही पहिचान भएका थिए । छुटको गुनासो दर्ता गराएका ५३३ पीडितको घर गत जेठमा पुनःसर्वेक्षण गरिएको थियो । मालिका गाउँपालिका–४ ओखरबोटका धनबहादुर घर्तीले घर बनाउन नसकेपछि पहिलो किस्तावापत लगेको रु ५० हजार राज्यकोषमा फिर्ता गरेका छन् ।

विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो । दोस्रो किस्तावापत डिपिसी गरेपछि रु एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

यसैगरी भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरीदका लागि थप रु दुई लाख उपलब्ध गराइएको छ ।

प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म १७ प्रतिशत भौतिक प्रगति भएको छ । बर्खासँगै सडकको काम सुस्ताएको र ठेकेदारले ज्याला नदिएकाले मजदुरले काम छाडेका स्थानीयवासीले बताएका छन् । भूकम्पले क्षति पुर्या एका ९७ मध्ये आर्थिक वर्ष २०७३/७४ मा चार र २०७४/७५ मा सातमध्ये पाँच भवन पुनःनिर्माण भएका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा २० कक्षाकोठा भवन पुनःनिर्माण शुरु भएकामा सात दुईकोठे, दुई तीनकोठे र दुई चारकोठे भवन सम्पन्न भएको छ । यसै महीनामा प्राप्त भएको दुईकोठे १०, तीनकोठे दुई र चारकोठ १२ भवन योजना विद्यालयलाई वितरण गरेर सम्झौताको तयारी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button