म्याग्दी र पर्वतमा ९ करोड लागतमा तटबन्ध निर्माण

सन्तोष गौतम, पोखरा न्यूज – ३१, असार । कालीगण्डकी नदीको कटानको चपेटामा परेका म्याग्दीको सदरमुकाम बेनी, पर्वतको जलजला गाउँपालिकामा पर्ने बगरफाँट र वारीबेनी बजार संरक्षणका लागि रु नौ करोडको लागतमा तटबन्ध निर्माण भएको छ ।

रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले आव २०७५/७६ मा बेनी बजारसहित म्याग्दीका विभिन्न ठाउँमा १३ र जलजला गाउँपालिकामा आठ प्याकेजमा तटबन्ध निर्माण गरिएको जनाएको छ । सबै काम उपभोक्ता समितिमार्फत भएको हो ।

पर्वत र म्याग्दीतर्फ कालीगण्डकी नियन्त्रणका लागि शुरुमा प्राप्त रु पाँच करोड बजेटको काम समयमै सकेर थप रु चार करोड बराबरको काम गरिएको परियोजनाका इञ्जिनीयर मोहनराज आचार्यले बताए । “बर्खा शुरु नहुँदै नदी नियन्त्रण सक्नुपर्ने समयको दवाबका कारण उपभोक्ता समितिमार्फत छोटो विधिबाट लक्ष्यभन्दा बढी काम गर्न सफल भयौँ”, इञ्जिनीयर आचार्यले भन्नुभयो, “बेनीबजार संरक्षणका अतिरिक्त अन्य जोखिमयुक्त बस्तीको पनि नदी नियन्त्रणको काम भएको छ ।”

बेनीबजार संरक्षणका लागि चार प्याकेजमा कालीगण्डकी किनारमा ग्यावियन पर्खाल निर्माण भएको परियोजनाका इञ्जिनीयर कृष्णबहादुर विश्वकर्माले बताए । विसं २०७५ भदौ २७ गतेको बाढीले कालीगण्डकी किनारमा निर्माणाधीन २५० मिटर पक्की पर्खाल भत्काएपछि नदीको भङ्गालो बजारतर्फ सोझिँदा बेनीबजार जोखिममा परेको थियो ।

इञ्जिनीयर विश्वकर्माका अनुसार पहिले निर्माण भएको पक्की पर्खाल संरक्षण र कटान गरेको ठाउँमा ग्यावियन पर्खाल लगाइएको छ । पानीको सतहभन्दा तल र जमीनभित्र एक मिटर तथा बाहिर पाँच मिटर अग्लो पर्खाल बनाइएको बेनीबजार संरक्षण कार्यक्रमअन्तर्गत प्याकेज नं तीनको उपभोक्ता समितिका अध्यक्ष कुबिर श्रेष्ठले बताए । “फागुनको अन्तिम हप्ताबाट शुरु भएको काम निर्धारित समयभित्रै सकिएको छ”, अध्यक्ष श्रेष्ठले भने, “तटबन्ध निर्माणपछि तत्काललाई कटानको जोखिम टरेको छ ।” बेनीबजार संरक्षण कार्यक्रमको डिपिआरअनुसार कालीपुलको बस्ती संरक्षणका लागि ठेक्का सम्झौता भइसकेको छ ।

रु चार करोडको लागत अनुमान गरिएको कालीपुलको बस्ती पछाडिको कालीगण्डकी किनारमा मेसिनरी पर्खाल लगाउने काम गर्न नयाँबाटो कन्स्ट्रक्सन जेभीले रु तीन करोड ७० लाखमा ठेक्का सम्झौता गरेको छ । बर्खापछि काम शुरु गर्ने तयारी छ ।

जलजला गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने बगरफाँट तथा वडा नं ४ बारीबेनीमा पनि तटबन्ध गरिएको छ । लस्ती, डमुवा र लुङदीखोला किनारमा पनि तटबन्ध भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । कटानको उच्च जोखिममा रहेका तटीय बस्ती संरक्षण र नदी नियन्त्रणका लागि परियोजनाले गरेको तटबन्ध प्रभावकारी बनेको अध्यक्ष मल्लको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button