पोखरामा श्रीमतीको हत्यामा संलग्न श्रीमानसहित ४ जना सार्वजनिक

दीननाथ बराल, पोखरा न्यूज – ०१, साउन। पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक निवासी २७ बर्षीय लक्ष्मी नेपालीको हत्यामा संलग्न उनकै श्रीमान सहित ४ जनालाई कास्की प्रहरीले बुधबार पोखरामा सार्वजनिक गरेको छ ।

आफ्नै श्रीमतीको हत्याका मुख्य योजनाकार रमेश नेपालीसहित घटनामा संलग्न भएका ४ जनालाई प्रहरीले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो । करिब एक बर्ष अघिदेखि साली अनु परियारको सम्बन्ध बढ्दै गए पछि उनकी सालीले दिदिलाई साइड लगाउनु भनेको आधारमा लक्ष्मीका श्रीमान रमेश नेपालीले आफ्ना साथीभाई सहित भारतीय नागरिक प्रयोग गरी श्रीमतीको हत्या गराएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

घटनामा संलग्न भएका भोजपुर नगरपालिका-५ बैंकरोड घर भई हाल पोखरा-९ महेन्द्रपुल बस्ने ३२ बर्षका संजय शर्मा, सर्लाही ईश्वरपुर नपा-३ तिनघरिया घर भई हाल पोखरा-८ पृथ्वीचोक बस्ने २६ बर्षीय चित रञ्जन कुमार शाह र रमेशकी साली गोरखा गण्डकी गाँउपालिका वडा नं. ७ घ्यालचोककी १९ बर्षीया अनु परियारलाई कास्की प्रहरीले सार्वजनिक गरेको हो ।

असार १ गतेदेखि हराइ रहेकी रमेश नेपालीको श्रीमती लक्ष्मी नेपालीको खोजतलाशको क्रममा २५ औंं दिनमा पोखरा महानगरपालिका-२२ कर्कलको जंगलमा लक्ष्मीको कंकाल मात्र भेटिएको थियो । उनका श्रीमानले श्रीमतीको खुट्टाको भएको एलर्जीको उपचार गर्न भनी जंगलमा जडिबुटि खोज्ने भन्दै जंगलमा लगेर आफु पिसाप फेर्छु भन्दै हराए पछि उनका अन्य साथीहरुले लक्ष्मीलाई आँखा र मुखमा पट्टि बाधेर धारिलो हतियारले रेटेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्याको पूर्व तयारी गरी पटक-पटक मोबाइल पसल संचालक आफ्ना साथीहरुसंगको राय सल्लाह अनुसार रमेशले एउटा कार र स्कुटर भाडामा लियर गएको प्रहरीले जनाएको छ । श्रीमान श्रीमती भाडाको स्कुटरमा कर्कलेको जंगलमा गएका थिए । असार २ गते नै आफ्नी श्रीमती हराएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उनको खोजी कार्य गर्न भनी निवेदन दिएका रमेशले विभिन्न संचार माध्यमहरुमा समेत पुगेर आफ्नी श्रीमती हराएको बिषयमा सुचना दिदै हिडेका थिए । उनको व्यवहार प्रति प्रहरीले केही दिनदेखि शंकाको घेरामा राखेर पटक-पटक सोधपुछ गर्दा नखुले पनि माइती पक्षबाट बढी दबाद आएसंगै प्रहरीले पुन उनलाई केही दिन अनुसन्धानमा राखे पछि घटनाको बारेमा रमेशले असार २४ गते राति खुलसा गरेको प्रहरीले जनाएको छ ।

लक्ष्मी नेपालीकी आमा पिठुमाया परियारले असार ११ गते कार्यालयमा खोजतलाश तथा कारवाही गरिपाउ भनि निवेदन दिएकी थिइन्। रमेश नेपालीको साली अनु परियारसंग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र आफ्नो बदनाम भएकोले अब दिदीलाई साइड लगाईदिनुस भनि अनुले रमेश नेपालीलाई १ बर्ष अगाडी भनेको कुरा रमेशले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार उक्त दिनदेखि रमेशले श्रीमतीलाई मार्ने योजना बनाउन लागेका थिए ।

एक जना महिलाको हत्या गर्नुपर्ने र सो बापत राम्रो रकम आउने कुरा रमेश नेपालीले मोबाईल पसल संचालन गर्दै आएका संजय शर्मालाई भने । त्यस पछि शर्माले पृथ्वीचोकमा मोवाईल पसल संचालन गरी बस्ने चितरन्जन शाहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जेठ ३० गते नै ३ जना भारतिय नागरिक पोखराको पृथ्वीचोकमा रहेको कोशी होटलमा बसेका थिए । होटलवालाले उनीहरुको रजिष्ट्रेशन ईन्ट्री नगरेको तर होटलमा बस्ने ब्यवस्था संजय शर्मा र चितरन्जन शाहले मिलाएको बुझिएको छ ।

लक्ष्मीको हत्या गराउन भनि रमेशले जेठ ३१ गते एक लाख अग्रिम दिएको, ५ लाख हत्या गरेसंगै दिएको र बाँकी ४ लाख दिन  बाकि रहेको जनाइएको छ । रमेशसहितको टोलीले हत्या गर्ने स्थान समेत उक्त दिन अघि चयन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पोखरा-२२ स्थित कर्कले जंगलमा रमेश, संजय, चितरन्जन र तिन जना भारतिय गई योजना बनाई फर्कीएका थिए ।

असार १ गते बिहान रमेश नेपाली संजय शर्माको पसलमा आई ग ११ प ८००३ नम्बरको स्कुटर भाडामा लिएका थिए । नयाँबजारबाट ग १ च २३६३ नं. को कार भाडामा लिइ संजय शर्माले गाडी चलाई कोशी होटलमा गएर ३ जना भारतिय र चितरन्जन शाह समेतलाई गाडीमा हाली कर्कले जंगलतर्फ गएको घटनामा उल्लेख छ । सोही दिन हत्या गर्ने ब्यक्तिहरु भारततर्फ गएको रमेशले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ । बाकी रकम चितरञ्जन मार्फत पठाउने उनीहरु विच सहमती भएको बुझिएको छ ।

साथै रमेशले आफ्नी श्रीमती लक्ष्मीको करिब ४ महिना अघि एक करोड मुल्य बराबरको जिवन विमा युनियन लाइफ इन्स्योरेन्समा गराएको प्रहरीले जनाएको छ । साली र मोटो रकम पाउने आशाले रमेशले आफ्नी श्रीमतीलाइ हत्या गर्ने योजना एक बर्ष अघिदेखि बनाएको हुन सक्ने एसपी कार्कीले जनाए । कुनै पनि व्यक्तिले नियतवस विमा गराएर विमाको दाबी रकम भुक्तानी लिन सक्दैन यदि कसैले गलत गरेको ठहर भए भुक्तानी गरेको रकम समेत जफत हुन्छ ।

घटनामा संलग्न हत्याराहरु पक्राउ गर्न सहयोग पुराउने प्रहरी सहायक निरिक्षक विशाल थापा क्षेत्रीलाई विशेष सम्मान गरिएको छ । पिडितका आफन्तले हत्यारा पक्राउ गर्न सफल भएकोमा कडा कारवाहीको माग गर्दै एसपी कार्कीलाई खादा लगाएका थिए । उक्त अवसरमा पेन गन सहित लागु औषध कारोबारी पक्राउ गर्न सफल प्रहरी जवान भरत भुजेल सम्मान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button