तनहुँ बन्दिपुरका अध्यक्ष थापाले गरे क्यान्सर पिडितलाई सहयोग

पोखरा न्यूज – ०२, साउन । तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बिहीबार एक महीनाको तलब स्वास्थ्य उपचारको लागि सहयोग गरेका छन् । पाचन नलीमा क्यान्सर लागेर भारतको राजीव गान्धी अस्पतालमा उपचार गरीरहेका बन्दिपुर गाउँपालिका-५ निवासी पूर्णप्रसाद रेग्मीको उपचारको लागि अध्यक्ष थापाले रु ३१ हजार सहयोग गरेका हुन् ।

अध्यक्ष थापाले रेग्मीकी पत्नी अप्सरालाई घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्  । रेग्मीको उपचारको लागि अन्य क्षेत्रबाट आर्थिक सहयोग जुटाउन उत्प्रेरित गर्ने उद्देश्यले आफूले पाएको तलब रकम सहयोग गरेको अध्यक्ष थापाले बताए । श्रीमानलाई एक वर्ष अघि उक्त रोग लागेपछि उपचारको क्रममा ५० लाखभन्दा बढी खर्च भइसकेको अप्सराले जानकारी दिइन् ।

“उपचारको लागि भएको सम्पत्ति पनि सकियो”, उनले भनिन, “अझै कति खर्च लाग्ने हो कसरी खर्च जुटाउने भन्ने चिन्ता थपिएको छ ।” रेग्मीको उपचारको लागि स्थानीयस्तरबाट रु तीन लाख ८४ हजार सहयोग गरिसकिएको बन्दिपुर ५ नं का वडाध्यक्ष धुर्वप्रसाद लामिछानेले जानकारी दिए ।

“जम्मा छ चरणसम्म शल्यक्रिया गरेर ‘किमो’ चढाउनुपर्ने रहेछ”, वडाध्यक्ष लामिछानेले भने, “अहिलेसम्म तीन पटक शल्यक्रिया गरेर किमो चढाउने काम भइरहेका छ ।” एक पटकमा रु एक लाख ५० हजार खर्च हुने हुँदा आर्थिक सङ्कलनको लागि स्थानीयस्तरबाट पनि सहयोग कार्य जारी रहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button