दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु

विमल विष्ट, पोखरा न्यूज – ०५, साउन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ ।

लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महीनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने उक्त विमानस्थल निर्माणको जिम्मा पाएको सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, “मौसमले सात दिए हामी एक हप्तामा पिचको काम सक्छौँ र बाँकी काम त्यसपछि शुरु हुने छ ।” विमानस्थलमा रन वे रेखाङ्कन लगायतका काम गर्न भने बाँकी छ ।

दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम शुरु गरेको दिपायलका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए ।

उनले भने , “एकवर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दबाब दिएका कारण कालोपत्रको काम शुरु भएको हो,अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकाएले समयमै ध्यन दिनु जरुरी छ ।” करीब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनले पाएको छ ।

निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा कालोपत्र निर्माणकार्य केही ढिला भएको स्थानीयवासीको आरोप छ । विगतमा लक्ष्यअनुसार काम नहुँदा कालोपत्रको काम शुरु नभएर यो विमास्थलको काम अलपत्र परेको थियो ।

अहिले बल्ल आएर कालोपत्रेको काम शुरु भएपछि यहाँका स्थानीयवासी विमानस्थल सुचारु हुनेमा निकै आशावादी भएको स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, “विमानस्थलको काम अलपत्र पर्छ की भन्ने सोचेका थियौँ, अहिले पिचको काम शुरु भएको छ, अब त जहाज चल्ला की ?” विमानस्थल कालोपत्रसँगै वरिपरिको जमीन सम्म पार्ने, विमानस्थल भवनमा रङ्गरोगन लगाउने र गेट निर्माणको काम गर्न बाँकी नै छ । दिपायलसँगै कालोपत्रे निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महीनामै परीक्षण उडानसमेत भइसकेको छ ।

उता बैतडीको पाटन विमानस्थलको काम भने लामो समयदेखि अलपत्रमा परेको छ । पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद नथपिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम निर्धारित समयमा नसकिएपछि यहाँका स्थानीयवासी आक्रोसित बनेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । कालोपत्रको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले कामअघि नबढाएको भन्ने बुझिएको नेपाल नागरिक उड्यान प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताए ।

बैतडी विमानस्थलको काम अहिलेसम्म पनि सञ्चालन नहुँदा लामो समयदेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण कार्य हेरिरहेका इञ्जिनीयर बालकृष्ण रेग्मीले बताए  । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुईवटा विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायलका स्थानीयवासी तथा होटेल व्यवसायी नन्दनसिंह कार्कीले बताए ।

उनले भने , “सुदूरपश्चिमका पहाडी जिल्लाका दुई विमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको विकासमा कोशेढुङ्गा सावित हुनेछ ।” दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथानलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी कृष्ण महराले बताए  ।

उनले भने, “सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुने छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button