पोखरा विजयपुरको बेलिब्रिज ३ दिनमा संचालनमा आउने ! बाढीले बगाएको डाइभर्सन नबनाइने

दीननाथ बराल, पोखरा न्यूज – ०६, साउन । पोखरा विजयपुर खोलाको अस्थायी डाइभर्सन पुल आइतबार पुनः निर्माण गरेको केही घण्टामै पानीको बहावले बगाएपछि हाल विकल्पमा निर्माण हुदै गरेको बेलिब्रिज (पुल) निर्माण सम्पन्न गर्नमा सबैको चासो बढेको छ ।

हाल धेरै मालबाहक गाडीसमेत संचालन नभएको र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको आवश्यक सामाग्रीका ढुवानी खासै नभएकोले गर्दा अस्थायी डाइभर्सनको विकल्पमा जति सक्दो छिटो बेलीब्रिज निर्माणमा आफुहरुको ध्यान गएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

आइतबार डाइभर्सन पुनः निर्माण गरेको केही घण्टामै सोमबार बिहानै डाइभर्सनको ग्रावेलिङको धेरै भाग बगाएर गाडी संचालन हुन नसक्ने अवस्थामा पुगे पछि हाल डाइभर्सनमा खर्च गर्नु भन्दा जति सक्दो छिटो बेली ब्रिज निर्माणमा आफुहरुको ध्यान केन्द्रित भएको सडक डिभिजन कार्यालय पोखराका सव-इन्जिनियर किरण सुवेदीले पोखरा न्युजलाई  बताए । उनका अनुसार बुधबार बेलुकादेखि पुल निर्माण हुने गरी हाल पुल तीव्र गतिमा निर्माण हुँदै गरेको छ ।

डाइभर्सनको विकल्पमा पोखराको विजयपुर खोलामा हाल निर्माण हुदै गरेको बेलिब्रिज निर्माणको कार्यको अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका संचालक उद्धव राईले बताए । उनका अनुसार ढिलोमा ३ दिन अर्थात बिहिबार देखि पुल संचालन हुने छ । मंगलबार बेलुकासम्म विम जडान र फिनिसिङ गरी पुलको पूर्व पश्चिम भागमा ग्रावेलिङ गर्ने काम हुने गरी काम भएको उनले जनाए ।

डाइभर्सन पुल पटक/पटक बगाए पछि यस बिषयमा सडक विभिजन र सिंचाई कार्यालय विज जुहारी शुरु भएसंगै सेती सिंचाई जल उपभोक्ता समिति पोखराका बलराम कुँवरले सडक डिभिजनको अव्यवहारिक ढंगले बर्खायाममा सिंचाइको पानी रोक्न लगाएको आरोप लगाए । उनले भने बर्ष भरी खाने धान रोप्नको लागि कृषकहरुले आफुहरुलाई दवाब दिदा पनि बिहानदेखि बेलुकासम्म करिब ५ बजेसम्म सिंचाइको पानी बन्द गराउदै आएको बताए ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले आफुहरुले हिजोआज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सेतीनदीबाट सिंचाइको लागि ल्याउने पानीलाई बन्द गरी नियन्त्रण गरिएको दाबी गरे । सडक डिभिजन कार्यालयले ६/७ महिना अघि गर्नुपर्ने काम बर्खायाममा गर्न थालेकोले समस्या आएको उनले जनाए ।  सडक डिभिजन कार्यालय पोखराका सडक डिभिजन प्रमुख हरि पोख्रेलले सिंचाइको कार्यालयको कमजोरीले डाइभर्सनमा प्रभाव परेको आरोप लगाउदै आएकाछन्।

अस्थायी डाइभर्सन बगाए पछि १० टन भारवान क्षमताका गाडीहरु सोमबार बिहान केही विजयपुर खोलाबाट वारपार गर्न पाएका छैनन । विजयपुरको मोटरेबल पुल करिब एक दशक अघि निर्माण भए पनि पुलको केही भाग चर्कन गएकोले हाल उक्त पुलमा १० टन भारवान क्षमताका गाडीहरु संचालनमा रोक लगाउदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button