गण्डकी प्रदेशले कृषकलाई ६० करोड ऋण दिने !

पोखरा न्यूज – ०८, साउन ।  गण्डकी प्रदेश सरकारले कृषकहरुलाई ६० करोड ऋण दिने भएको छ । गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले कृषि क्षेत्रमा ठोस काम गर्ने कृषकहरुलाई ६० करोड ऋण दिने बताएका हुन् ।

बुधबार, पोखरा महानगरपालिका २२ पुम्दिभुम्दि वडा कृषि सञ्जालले आयोजना गरेको अगुवा कृषक सम्मान कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् । ‘कृषि क्षेत्रमा सम्भावना छ,’ उनले भने, ‘कृषि क्षेत्रमा केही गर्छु भन्ने सोच भएका, ठोस काम गर्ने कृषकहरुलाई  ६०  करोड ऋण दिन्छौं ।’

तर, कृषि क्षेत्रमा काम गर्छु भनेर अर्कै पर्योजनमा रकम प्रयोग गरेमा त्यो भन्दा बिडम्बना अरु केही नहुने उनले बताएका छन् । ‘रियल नियत हुनुपर्यो, रियल काम गर्नुपर्यो,’ उनले भने, ‘ऋण लिएर छोराछोरीलाई विदेश पठाउँने, घरघडेरी जोड्यो भने त्यो भन्दा बिडम्बना अरु केही हुँदैन । साच्चिकै कृषि गर्नेलाई प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

संघ सरकारबाट अनुदान लिइ सकेका कृषकलाई भने ऋण नदिने उनले सुनाए । राम्रो भिजन लिएर आउँनेलाई ऋण दिने उनको भनाई छ । ‘राम्रो भिजन लिएर आउँने कृषकलाई हामी ऋण दिन्छौं,’ उनले भने, ‘विशेषगरि कृषि मोडल व्यवसाय गर्नेलाई व्यवसायतर्फ उपयोग गर्ने योजना बनाएका छौं ।’

कृषि विकास बैंकसँगको सहकार्यमा कृषकलाई ऋण उपलब्ध गराउँने उनले सुनाए । प्रतिकृषक वा फर्मलाई ५ प्रतिशत ब्याजमा ५ लाख देखि १ करोडसम्म ऋण दिने उनले बताए । कृषिमा केही गर्न खोज्ने कृषकलाई विशेष प्राथमिकतामा राख्ने उनको भनाई छ ।

सोही अवसरमा मन्त्री थापाले पोखरा महानगरपालिका २२ पुम्दिभुम्दि १० अगुवा कृषकलाई सम्मान समेत गरेका थिए । सम्मानित हुनेमा इश्वरीप्रसाद लामिछाने,  विरेन्द्र बराल, पार्वती बराल, सञ्जिव गुरुङ, श्यामु अधिकारी, केशव पौडेल, उमाकान्त बराल, लिलाधर पौडेल, अग्निमाया बराल र देविलाल बराल रहेका छन् । उक्त अवसरमा शुक्रराज माविबाट २०७५ को एसइइ मा भेटेरिनरी बिषयमा ३.९ जिपिए ल्याई उत्कृष्ट  भएकी तिर्सना बराललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारी र रामजी बराल, पोखरा २२ का वडाअध्यक्ष मित्रलाल बराल, वडा सदस्य मात्रिका बराल  , पोखरा महानगर कृषि बिकास महाशाखाका प्रमुख  मनहर कडरिया,  शुक्रराज माबिका प्र.अ. नरनाथ बराल नेकपाका गाउँ कमिटि अध्यक्ष चण्डिका बराल लगायतले बोलेका थिए ।

वडा २२ का कृषि संजालका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालान अगुवा कृषक देविलाल बराल ले गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button