पोखरामा ट्राफिक व्यवस्थापन चुनौती बन्दै

पोखरा न्यूज – ११, साउन । पर्यटकीय शहर पोखरामा बढ्दो सवारी चापले गर्दा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको सरोकारवालको भनाइ छ ।

कास्कीमा जम्मा ८८ जना ट्राफिक जनशक्ति रहेको छ । एक जना ट्राफिकले दुई हजार ४७७ वटा सवारी साधन व्यवस्थापनमा गर्नुपर्ने अवस्था रहेको छ । कास्कीमा एक हजार ७८० किलोमिटर सडक रहेको छ । जिल्लामा हालसम्म दर्ता भएका सवारी साधनको सङ्ख्या दुई लाख पाँच हजारमाथि रहेको छ ।

कास्कीमा आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा ज्यान गुमाउनेको सङ्ख्या ३१ रहेको छ । अघिल्लो आवमा सवारी दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए ।

ट्राफिक नियम मिच्ने, कमजोर सडक संरचना, सीमित क्षेत्रमा बढ्दो सवारी चापनै दुर्घटना बढ्नुको कारण भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक जितजङ्ग कार्की बताउछन । उनले भने “दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायमा पुगेर सचेतना जगाइरहेका छौं, मादक पदार्थ सेवन (मापसे) मा कडाइ गरेका छौं र जथाभावी ‘ओभर टेक’ गर्नेलाई कारवाही गरेका छौ ।”

आव २०७५/७६ मा ८२ दुर्घटनामा ८० जना घाइते भएका थिए । अघिल्लो आवमा ७९ दुर्घटना भएकोमा ८८ घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधानको सङ्ख्या भने बढेको छ । गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार दुई सय सवारी कारवाहीमा परेका थिए । तर अघिल्लो आवमा ५१ हजार पाँच सय एक सवारी कारवाहीमा परेको तथ्याङ्क छ ।

दुर्घटना केवल ट्राफिक प्रहरीको मात्र विषय नभएर चालक पनि जिम्मेवार हुनुपर्ने र सडक संरचनाको स्तरोन्नति अर्को महत्वपूर्ण पाटो भएको प्रवक्ता कार्कीको भनाइ थियो । कार्कीका अनुसार एक वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने दुई हजार ९०० सवारीसाधनमा ‘ह्वील’ तथा ‘चेन लक’ लगाइएको थियो । गत आवमा नियम विपरीतका सवारी चलाएवापत रु चार करोड ४७ लाख ३७ हजार ५०० राजश्व सङ्कलन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button