पोखरामा ३ लाख पर्यटक भित्रिए

दीननाथ बराल, पोखरा न्यूज – १२, साउन ।   गण्डकी प्रदेशमा आर्थिक बर्ष २०७५/७६ मा करिब ३ लाख पर्यटक भित्रिएका छन् । आर्थिक बर्षमा प्रदेशमा २ लाख ९८ हजार ९ सय ७५ जना पर्यटक भित्रिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले भारतीय पर्यटकको एकल र चिन, युरोप, अमेरिका ,कोरिया, जापान, बंगलादेश लगायतका  अन्य देशका सबै पर्यटकलाई एकतिर राखेर दुई भागमा बिभाजन गरी तथ्याङक सार्वजनिक गरेको छ ।

गत बर्ष १ लाख २० हजार ९ सय ३८ जना भारतिय पर्यटक प्रदेशमा भित्रिएको मन्त्रालयका सुचना अधिकारी शिव परियारले बताए । उनका अनुसार १ लाख ७८ हजार ३७ जना अन्य देशका पर्यटक गण्डकी  प्रदेशमा  भित्रिएका छन् । मन्त्रालयको तथ्याङक अनुसार प्रदेशमा भित्रिने भारतिय पर्यटकको संख्या कुल पर्यटकको ४०.४५ प्रतिशत रहेको छ भने अन्य देशका पर्यटकको संख्या ५९.५५ प्रतिशत रहेको  छ ।

गण्डकी प्रदेशको पर्यटकको तथ्याङकको रुपमा करिब ३ लाख पर्यटक प्रदेशमै भित्रिए पनि अधिकांश पर्यटक प्रदेशको राजधानि पोखरामा भित्रिएको सुचना अधिकारी परियारले जनाए ।नागरिक उड्डयन कार्यालय पोखरा, आवुखैरेनी, तनहुँ र स्याङजाको गल्याङ चेकपोष्टमा विभिन्न माध्यमबाट उक्त तथ्याङक संकलन गरिएको सुचना अधिकारी परियारले पोखरा न्यूजलाई बताए ।

नागरिक उड्डयन कार्यालयले हवाई मार्ग तर्फको तथ्याङक उपलब्ध गराएको हो भने अन्य सडक मार्ग हुदै प्रदेश भित्रिने पर्यटकहरुको तत्याङक नेपाल प्रहरी मार्फत संकलन गरिएको सुचना अधिकारी परियारले बताए ।  प्रदेशमा सबैभन्दा धेरै भारतिय पर्यटक मंसिर महिनामा भित्रिएका थिए भने सबै भन्दा कम माघ महिनामा भित्रिएका थिए ।

मंसिरमा प्रदेशमा भारतिय पर्यटक १७ हजार ५ सय २५ र माघमा ५ हजार ५ सय ६१ जना भित्रिएको मन्त्रालयले जनाएको छ । गर्मी छल्न भारतिय पर्यटक पोखरा आउछन भन्ने पर्यटन व्यवसायीको भनाईलाई प्रदेशको तथ्याङकले सावित गरेको छ ।  जस अनुसार जेठ महिनामा मात्र भारतिय पर्यटक प्रदेशमा १५ हजार १ सय २० जना भित्रिएका छन्। जेठ महिना बार्षिक तथ्याङक अनुसार मंसिर पछिको सवै भन्दा बढी भारतिय पर्यटक भित्रिने महिनाको रुपमा रहेको छ ।

अन्य पर्यटकहरुको हकमा भने सबै भन्दा धेरै पर्यटक कार्तिक महिनामा २६ हजार ८० पर्यटक भित्रिदा सवै भन्दा  कम असार महिनामा ६ हजार २ सय ८८ पर्यटक भित्रिएको तथ्याङकमा उल्लेख गरिएको छ । मन्त्रालयले पहिलो पटक प्रदेश भित्रिने भारतिय तथा अन्य देशका पर्यटकहरुको तथ्याङक संकलन गरेको हो ।

यसअघि नागरिक उड्डयन कार्यालय पोखरा बाहेक अन्य कुनै पनि संघ संस्थाले प्रदेश वा पोखरा भित्रिने पर्यटकहरुको तथ्याङक संकलन गरेका थिएनन्। काठमाण्डौं भित्रिने पर्यटकको तुलनामा करिब ४० प्रतिशत जसो पर्यटक पोखरा भित्रिन्छन भन्ने सामान्य मान्यता राख्दै आइएको छ  ।

गण्डकी प्रदेशले सन् २०१९ मा  १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button