सडक चक्ल्याउने नाममा फेवाताल सिरानको सिमसार क्षेत्र पुरिदै

दीननाथ बराल, पोखरा न्यूज- १५ , साउन । पोखरा फेवातालको सिमसार क्षेत्रमा माटो पुर्ने क्रम हाल पनि रोकिएको छैन्। फेवातालको माथिल्लो भाग पामे, चंखपुर लगायतको क्षेत्रमा विभिन्न बहानामा व्यक्तिगत स्वार्थको निम्ती दलदल भाग पुरेर घर/घडेरी बनाउने उद्धेश्यले अझै पनि सिमसार क्षेत्रमा पुरपार भइरहेको स्थानियले बताए ।

बर्खायामको समयमा जथभावी रुपमा सडक बनाउने नाममा डाँडा कटान गरी फेवातालको सिरान भाग दलदल रहेको ठाउँमा माटो हालेर पुर्ने काम भएको स्थानियले गुनासो गरेका हुन् । एक स्थानियले भने “ महानगरको लापरबाहीले गर्दा फेवातालको सिरान क्षेत्रमा धेरै दलदल भागमा हाल घर बनाउने उद्धेश्यले व्यक्तिले  माटो पुर्दै गएका छन, केही समय यो क्रम रोकिए पनि फेरी यस्तै गरी माटो पुर्ने काम चलि रहेको छ, यसको नियमन कडाइका साथ हुन पर्यो । ”फेवातालको सिरानभाग पामे स्थित समरखो क्षेत्र नजिक दलदल भागमा यति बेला धमाधम माटो ढुंगाले पुर्न सुरु  गरिएको छ ।

 

पोखरा महानगरपालिकाले निर्माण गर्न लागेको कनेक्टिङ रोड अन्तर्गत सडक चक्लाबन्दी गर्ने क्रममा उक्त सिमसार क्षेत्रमा डाँडा कटानबाट निस्केको माटो, ढुंगा स्थानिय हरी भण्डारी र मनोज कुँवरको दलदल भएको आफ्नो जग्गामा हालेका हुन् । सडक चक्लाबन्दी गर्दा आफुहरुले आफ्नो जग्गाको भाग दिएकोले डाडाँ तर्फ बढी कटान गरी निस्केको माटो ढुंगा आफ्नो जग्गा संरक्षणको लागि पुरेको हरी भण्डारीले बताए ।

आफुहरुले धान खेति गर्ने उद्धेश्यले हाल घोलो रहेको क्षेत्रमा माटोले पुरपार गरेको उनले जनाए । उनले भने “हाम्रो जग्गासंगै भएको क्षेत्रमा सबै तर्फ जसो पहिला नै माटो पुरेर हाम्रो जग्गा धेरै गहिराइमा पुगेको छ, त्यही भएर हामीले अन्य व्यक्तिको आठोसंग मिल्ने गरी माटो हाल्न थालेका हौं । ” यसअघी सोहि जग्गा नजिक धान समेत रोप्न नमिल्ने गरि  गेग्रानले  सिमसार क्षेत्र पुरेर घडेरी बनाइएको छ ।

यसअघी सोही ठाउँमा सिमसार पुरेर बनाइएको घडेरी

यस बिषयमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पामे क्षेत्रमा पानी भएको क्षेत्रमा कसैले अनुमति बिना माटो पुर्न नपाउने बताए । उनले पोखरा न्यूज सँग  भने “सिमसार एवं पानी भएको कुनै पनि दलदल क्षेत्रमा जथभावी रुपमा कसैले अनुमति बिना पुर्ने काम गर्छन भने उनीहरु उपर हामी कारवाही गर्न बाध्य हुनेछौं, त्यस्तालाई हामी कारवाही गछौं । ”

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बर्षातको समयमा सकभर फेवाताल क्षेत्रमा कुनै योजना अघि बढाउन नहुने बताए । उनले भने “अत्यावश्यक सडक मर्मत गर्नु पर्ने अवस्था बाहेक हामीले जेठ महिनादेखि असोजसम्म सडक निर्माण तथा मर्मतको खासै काम गरेका छैनौं, महानगरको योजना भएकोले त्यसको बारेमा हाम्रो खासै ध्यान पुगेन । ”

वडा सदस्य अग्नीधर त्रिपाठीले पामे क्षेत्रमा अग्लो डाडाँको केही बढी भाग कटान भएको बताए । डाडाँकटानबाट निस्केको माटो ढुंगा दक्षिण तर्फको दलदल भागमा राखिएको उनले जनाए । सिमसार क्षेत्रमा जथभावी रुपमा खन्न खोर्सन नपाइने प्रावधान रहेको छ ।

पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउने उद्धेश्यले खपैदी क्षेत्रमा माटो निकाल्ने अभियानमा लागे पनि उक्त माटो फेवातालको माथिल्लो भागमा जथभावी रुपमा राख्न थाले पछि महानगरले माटो निकाल्ने काम समेत रोकेको थियोे ।

बर्षातको समयमा विभिन्न खहरे खोलाबाट आउने ठुलो भलपानीले तालको माथिल्लो भागमा लगेर राखेको माटो पुनः तालमै जाने भएको स्थानिय प्रजापति तिमिल्सिनाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button