पोखरा महानगरपालिकाको कमाउ धन्दा: पार्क बनाउँने ठाउँमा सपिङ कम्प्लेक्स !

श्याम रानामगर, पोखरा न्यूज- १६ , साउन । गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ बैशाख १२ गते  ७.८ रेक्टर स्केलको विनासकारी भुकम्प गयो । भुकम्पले गोरखा मात्रै हल्लाएन सिंगो देशै हल्लायो । भुकम्पमा परि हजारौंको मृत्यु भयो । सैयौं घरबार बिहिन बने । राजधानीलाई पनि मज्जैले हल्लायो भुकम्पले ।

विज्ञहरुका अनुसार भुकम्पबाट बच्ने गतिलो उपाय भनेको नै खुल्ला चौर या पार्क जस्ता सुरक्षित ठाउँहरु नै हुन् । २०७२ को भुकम्पमा खुला ठाउँ नपाएर राजधानीमै कैयौंले ज्यान गुमाए । जसको  कारण अव्यवस्थित शहरिकरण नै हो । भुकम्पमा गोरखा र राजधानी आसपासमा जति क्षति भयो । पोखरामा भने हुन पाएन । पोखरा सुरक्षित बन्यो । बच्यो ।

सुरक्षाको कुरालाई छाडेर हेर्ने हो भने पनि  हिजो आज सवारी लिएर घरबाट बाहिर कतै निस्कियो कि एउटै समस्या हुन्छ, पोखरामा पार्किङको ।  हिड्न त हिडियो पार्किङ गर्ने ठाउँ पाइने हो कि होइन् ? सवारी लिएर निस्किएपछि पोखरेलीको मष्तिस्कमा उब्जिने पहिलो प्रश्न नै यही हुन्छ ।

कहिलेकाही त सवारी पार्किङ गर्ने ठाउँ नै नपाएर फर्किनु पर्ने अवस्था पनि आउँछ । पोखराका निकै व्यस्त बजार क्षेत्र चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, न्युरोड, नयाँ बजार, लेकसाइड लगायतका क्षेत्रमा यो समस्या बढ्दो छ ।

सवारी पार्किङको लागि महानगरले सडकमै ठेक्का लगाउँदै आएको छ । सडकमै सवारी पार्किङ गर्दा सडक खुम्चिएको त छ नै सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । महानगरले सवारी पार्किङका लागि जग्गा नखोजेको पनि होइन ।

गएको वर्ष न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल आसपासका क्षेत्रको सवारी पार्किङको लागि नयाँ बजार प्रदर्शनी केन्द्र छेउको जग्गा र लेकसाइड क्षेत्रको सवारी पार्किङका लागि क्याम्पिङ चौर प्रयोग गर्ने महानगरले योजना ल्यायो । पछि, महानगरको सोही पार्किङ योजना सफल हुन सकेन । ति ठाउँहरु पार्किङको लागि अपायक ठहरियो ।पार्किङका लागि महानगरले स्पष्ट नीति अझै पनि ल्याउन सकेको छैन ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार पार्किङका लागि महानगरसँग अप्सनहरु भए पनि स्पष्ट योजना बनाउँन भने सकिरहेको छैन । अझै पनि सडकमै पार्किङ ठेक्का लगाउँने या नीजी क्षेत्रलाई जिम्मा दिने भन्नेमा अन्यौल छ । सवारी पार्किङका लागि जग्गा नपाएर महानगर हैरानीमा  छ महानगर । प्राकृतिक विपत्ति आइहाले नगरबासिलाई राख्ने सुरक्षित खुला ठाउँ पनि महानगरसँग छैन ।

तर, पोखराको व्यस्त बजार क्षेत्र मध्येकै केन्द्रमा पर्ने सिर्जना चोकको जग्गामा भने महानगरले सपिङ कम्प्लेक्स बनाएर भाडामा लगाएको छ । पोखरा महानगरपालिका-९ सिर्जनाचोकमा अवस्थित महानगरले सपिङ कम्प्लेक्स बनाएर लाखौं भाडा उठाउँदै आएको छ ।

जुन जग्गा उपत्यका नगर विकास समितिले ‘पार्क’ बनाउँन भनेर छुट्याएको नगर विकास समिति बताउँछ । सोही जग्गामा महानगरले पार्क त बनाएन । उल्टै सपिङ कम्प्लेक्स  बनाएर भाडामा लगाउँदै आएको छ । भाडा बापत महानगरले वर्षेनी लाखौ आम्दानी गर्दै आएको छ ।

नगर विकास समितिको अनुदान र ऋण सहयोगमा बनाइएको उक्त भवनमा बेसमेन्ट पार्किङ सहित ३ तला छ । महानगरले कमप्लेक्स ‘जस्ट इन टाइम कन्स्ट्रक्सन’ कम्पनीलाई ठेक्कामा दिएको छ । वि.स. २०७३ फागुन २२ मा महानगरले कम्प्लेक्स  भाडामा लगाउँन पहिलो पटक ७६ लाखको सूचना निकालेको थियो । ५ वर्षका लागि । पहिलो पटक कसैको पनि निवेदन परेन । महानगरका लेखा अधिकृत शिवहरि शर्माका अनुसार दोस्रो पटकको सूचनामा ‘जस्ट इन टाइम कन्स्ट्रक्सन’ कम्पनीको मात्रै निवेदन पर्यो ।

त्यो पनि बोलपत्रमा तोकिएकै रकममा । ‘कानुन अनुसार एक जनाको मात्रै निवेदन परे पनि उस्लाई टेन्डर दिनुपर्छ,’ उनले भने, ‘दोस्रो पटकको सूचना प्रकाशित भई सकेपछि ‘जस्ट इन टाइम कन्स्ट्रक्सन’ निवेदन दिन आयो । त्यो पनि बोलपत्रमा तोकिएकै रकममा ।’ चैतमा महानगरले ‘जस्ट इन टाइम कन्स्ट्रक्सन’ कम्पनीलाई कम्प्लेक्स ठेक्कामा दिएको उनले जानकारी दिए ।

कम्प्लेक्सबाट महानगरले वर्ग मिटरको हिसाबले भाडा उठाउँदै आएको छ । जम्माजम्मि ७ हजार ६ सय ७८ दशमलव ५५ वर्ग मिटरको कम्प्लेक्स बाट महानगरले भाडा बापत वर्षेनी ७६ लाख बराबरको रकम उठाउँदै आएको छ ।

पोखराकै केन्द्रमा पर्ने उक्त जग्गामा महानगरले सार्वजनिक पार्क अथवा महानगरकै जल्दोबल्दो समस्याको रुपमा देखिएको पार्किङलाई व्यवस्थापन गर्न सक्थ्यो । ठुलठुला भवन बनि रहेको बेलामा प्राकृतिक विपत आइ हाले सुरक्षित ठाउँको रुपमा प्रयोग गर्न सक्थ्यो । तर, महानगरले त सार्वजनिक रुपमा यति महत्व राख्ने जग्गा नै सपिङ कम्प्लेक्स बनाएर भाडामा लगाएको छ । महानगर स्वय नै अव्यवस्थित बजारिकरणको पक्षधर जस्तै बनेको छ ।

लामो समयसम्म पोखरा उपत्यका नगर विकास समितिको प्राविधिक प्रमुखको जिम्मेवारी सम्हालेका इन्जिनियर किसानसिंह गुरुङ उक्त ठाउँलाई खालि राख्नु पर्ने मत राख्छन् । सार्वजनिक पार्क अथवा भर्टिकल पार्किङ स्पट बनाउँदा उपयुक्त हुने उनको भनाई छ । ‘त्यो जग्गा उपत्यका नगर विकास समितिले पार्क बनाउँने भनेर छुट्याइएको थियो,’ उनले भने, ‘पछि, महानगर मातहतमा गयो । सार्वजनिक ठाउँमा सपिङ कम्प्लेक्स बनाउँनु भन्दा भर्टिकल पार्किङ स्पट अथवा पार्क बनाउँदा नै उपयुक्त हुन्थ्यो, प्राकृतिक विपत्ति आइ हाले पनि सो ठाउँलाई प्रयोग गर्न सकिन्थ्यो ।’

नागरिक समाजका अगुवा राम पौडेल महानगरपालिका जस्तो संस्थाले भाडा खाएर बस्ने काम राम्रो नभएको धारणा राख्छन् । खुला ठाउँलाई खुला राख्नु पर्ने उनको तर्क छ । ‘भवनै बनाए पनि पार्किङ भवन बनाएके भए कति राम्रो हुन्थ्यो होला,’ उनले भने, ‘ल भन्नुस त ! सार्वजनिक स्थानमा भवन बनाउँन हुन्न भनेर विरोध त गर्यौ । तर, हाम्रो कुरा सुनुवाई भएन ।’

पोखराकै अर्को व्यस्त बजार क्षेत्र महेन्द्रपुलमा पनि हुलाकको भवन बनाइएको छ । जुन भवन नबनाउँनको स्थानीय स्तरबाट निकै विरोध पनि भएको थियो ।

यता मेयर मानबहादुर जीसी पनि उक्त ठाउँलाई खुला राख्दा उपयुक्त हुने बताउँछन् । ‘खुला, त खुलै राऋदा ठिक हुन्थ्यो,’ उनले भने, ‘हामी निर्वाचित हुनुभन्दा अघि नै त्यो कम्प्लेक्स बनेको हो । त्यसलाई व्यवस्थापन गरेर लैजानु पर्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button