पोखराका पोल-पोलमा तारको जालो : कुरुपता सँगै दुर्घटनाको जोखिम

पोखरा न्यूज : २०, साउन । ‘पोल पोलमा गुजुल्टिएका तारले  लेकसाइडको  सुन्दरता बिगार्यो,’ पर्यटन व्यवसायी हरि भुजेललाई एक विदेशीले सुनाए, ‘यसले  त यहाँको सुन्दरतालाई एकदम अनहाइजेनिक देखायो ।’ हरिसँग तत्काल उनलाई दिने उत्तर केही थिएन । उनी नाजवाफ जस्तै बने ।

लामो समयदेखि लेकसाइडमा रहेर पर्यटन व्यवसाय गर्दै आएका भुजेलले गुनासो पोख्दै भने, ‘नचाहिने तार पनि यसै गुजुल्टो पारेर राखिएको छ । यसलाई त महानगरले अभियानै चलाएर हटाए हुने ।’ केही दिन अघि मात्रै गौरीघाटमा मक्किएको रुख ढल्यो । धन्न, त्यो रुख तारमा परेन । जेलिएको तारमा परे ठुलै क्षति हुन पनि सक्थ्यो । गौरीघाट आसपासमा अझै पनि डेढ, दुई दशक पहिलेका रुख छन् । जुन कुनै पनि बेला मक्किएर ढल्न सक्छन् । उनी लगायत अरु पनि व्यवसायी भएर वडाध्यक्ष कहाँ गुनासो लिएर पुगे । वडाध्यक्षले भदौ लागेपछि केही उपाय निकाल्ने आश्वासन दिएर पठाए ।

यो समस्या लेकसाइडको मात्रै होइन । सिंगो पोखराको हो । पोल पोलमा अव्यवस्थित रुपमा तार विस्तारले ज्यानै पनि लिएको छ । अघिल्लो वर्ष गुडिरहेको मोटरसाइकलमाथि बिजुलिको तार चुडिँदा मोटरसाइकल चालक युवाले ज्यानै गुमाएका थिए । सोही वर्ष बसको छतमा राखेर ल्याउँदै गरेको ट्याक्टर बिजुलीको तारमा झुन्डिएको थियो । मानवीय क्षति भने हुन पाएन ।

उसो त नागरिक स्तरबाट चर्को विरोध आउँन थालेपछि महानगरले अव्यवस्थित तार हटाउँने अभियान पनि थालेको थियो । गत वर्ष महानगरका सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा १२ सदस्यीय टोली गठन गरेर तार हटाउँने अपरेसन सुरु गरेको थियो ।

गत वर्ष मंसिर २७ गते मेयर मानबहादुर जीसीले सिद्धार्थ चोकको पोलमा झुन्डिएको तार काटेर तार व्यवस्थापन अपरेसन थालेका थिए । ३ महिना भित्रमा पोल पोलमा झुन्डिएका अनावश्यक तार हटाउँने लक्ष्य लिएको महानगरले ८ महिना पुरा बितिसक्दा पनि तार व्यवस्थापन गर्न सकेको छैन । तार व्यवस्थापनको राम्रो उपाय अन्डरग्राउन्ड भए पनि तत्काललाई अनावश्यक तार मात्रै भए पनि हटाउँने नीति थियो । तर, इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थासँगको सहकार्यमा तार हटाउँने महानगरको योजना सफल हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण मालेपाटन पोखराका प्रमुख सुरेन्द्र शाह पोल पोलमा तार गुजुल्टो पारेर राख्दा आगलागी जस्ता दुर्घटनाको जोखिम बढ्ने बताउँछन् । इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थाहरुलाई अनावश्यक तार हटाउँन घचघच्याईं रहको उनले सुनाए । ‘हामीले निर्देशन त दिई रहेका छौं,’ उनले भने, ‘तर, सोेचे जस्तो उपलब्धि भएको छैन ।’ सामान्यत बिजुलिको तारभन्दा मुनिबाट अन्य इन्टरनेट केबुलका तार बिस्तार गर्नुपर्ने नियम छ । तारका अनावश्यक गुजुल्टा पारेर राख्दा पोलमा भार पर्न जान्छ । जसको कारण  दुर्घटनाको जोखिम पनि बढ्न जान्छ । अव्यवस्थित तार हटाउँनका लागि इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी, महानगर लगायत सबैको दायित्व रहने उनले सुनाए ।

यता महानगरका प्रवक्ता धनबहादुर नेपालीले तार व्यवस्थापनका लागि इन्जिनियरबाट लागत इस्टिमेट निकालेर रफ्तारका साथ काम अघि बढाउँने योजनामा महानगर रहेको बताउँछन् । पोल पोलमा तारको जालो गुजुल्टिएर रहनु पर्यटकीय नगर  पोखराका लागि चुनौतिको विषय रहेको उनको धारणा छ । ‘एउटा भैरहेको कुरालाई व्यवस्थित गर्ने र अर्को नयाँ विस्तार गरिने तारलाई अन्डरग्राउन्ड गरेर कसरी लैजाने भनेर महानगर लागिपरेको छ,’ उनले भने । यसअघी थालिएको तार व्यवस्थापन अभियानबाट नयाँ अनुभव पनि पाएको उनले सुनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button