भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

पोखरा न्यूज – २२, साउन ।  भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उनी ६७ बर्षको थिइन्।

स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्याएका थिए  । उनले मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेको बताइएको छ ।

स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए  ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले आज दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन्।  “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छन  ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिइन् । उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।

विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button