सुनको मूल्य हालसम्मकै उच्च, छापावाला सुनको मूल्य तोलाको ७० हजार

पोखरा न्यूज – २३, साउन । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्यमा रु पाँच हजार वृद्धि भएको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ६५ हजार र चाँदी प्रतितोला रु ७७० मा कारोबार भएको थियो । छापावाल सुन शुक्रबार प्रतितोला रु ८०० ले बढेर रु ६५ हजार ८०० पुगेको थियो । आइतबार पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । आइतबार प्रतितोला रु ५०० ले बढेर रु ६६ हजार ३०० मा खरिदबिक्री भएको महासङ्घले जनाएको छ । एकाएक सोमबार सुनको मूल्य ह्वात्तै बढ्यो । सो दिन सुन प्रतितोला रु एक हजार ५०० बढेर रु ६७ हजार ८०० मा कारोबार भएको थियो । निरन्तर उकालो लाग्ने क्रम जारी रहेपनि मङ्गलबार भने सुनको मूल्य स्थिर रह्यो ।

मङ्गलबारको मूल्यमा प्रतितोला रु ७०० का दरले बढेर बुधबार सुनको मूल्य रु ६९ हजार ५०० पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ४९७.०५ डलर छ । विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ ।

सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ । अहिले दैनिक करिब १० किलो सुन खपत भएको महासङ्घले जनाएको छ । यसअघि दैनिक २० किलो सुन नेपालको आन्तरिक बजारमा खपत हुँदै आएको थियो । सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासङ्घले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button