पोखराको महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटकको आगमनमा वृद्धि

पोखरा न्यूज – २४, साउन । पर्यटकीय नगरी पोखराको आकर्षणमध्येका महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटकको सङ्ख्यामा पोखराको भएको छ । प्राकृतिक गुफाका रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले अवलोकन गरेका गुफा सचिवालयले जनाएको छ ।

गत आर्थिक वर्षमा महेन्द्र गुफामा मात्रै ८४ हजार ६१२ र चमेरे गुफामा ४२ हजार ८५४ जना पर्यटकले अवलोकन गरेका सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए । उनका अनुसार आव २०७४/७५ मा भन्दा आव २०७५/७६ मा दुवै गुफामा गरी २६ हजार ७३० जना भारतीय पर्यटकको सङ्ख्यामा वृद्दि भएको हो ।

गत आवमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या केही घटे पनि सार्कमुलुकमध्ये भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्घि भएको र दुवै गुफाबाट रु तीन करोड भन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण आम्दानी सँगसँगै खर्च पनि बढेको उनले बताए।

बाटुलेचौरस्थित बिन्ध्यावासिनी माविको स्वामित्व तथा संरक्षकत्वमा सञ्चालित दुवै गुफाको वृहत र व्यवस्थित विकासका लागि गुरुयोजनासमेत निर्माण गरिएको छ । गुफा क्षेत्रलाई थप आकर्षित बनाउन गुरुयोजना अनुसार नै काम शुरु गरिने महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ वञ्जराले बताए  ।

गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभइ आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि महत्वपूर्ण सहयोग पुर्याइएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । उक्त क्षेत्रका सडक, नाला निर्माण तथा फोहर व्यवस्थापनको लागि पनि सहयोग गरिएको र फोहर व्यवस्थापनका लागि विद्यालय र वडा कार्यालयको समन्वयमा डस्टबिन राख्ने कार्य गरिएको जनाइएको छ ।

गुफाको गुरु योजनालाई कार्यान्वयन गर्न प्रारम्भिक रुपमा रु ५० लाख विनियोजन गरी कार्य शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिए । गुरुयोजना अनुसार सबै काम सम्पन्न गर्न भने केही समय लाग्ने उनको भनाइ छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष मनाइरहँदा बाह्य पर्यटकको आगमन वृद्दि हुनुले पनि पर्यटन क्षेत्रमा उत्साह थपेको संयोजक बञ्जाराले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button