३ हजार ९ सय कुखुराका चल्ला नष्ट

पोखरा न्यूज – २७ , साउन । चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका ३ हजार ९ सय कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो ।

काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बताए । चल्ला र अण्डा क्वारेन्टाइन पास गराएर लैजानुपर्ने व्यवस्था भए पनि उनीहरुले क्वारेन्टाइन छलेर लैजान लागेको बताइएको छ ।

बिक्री अनुमतिपत्र, क्वारेन्टाइन चेकपोष्ट दरपिट भएको पत्र र अन्य आवश्यक केही कागजात नभएकाले चल्ला नष्ट गरिएको शाहले जानकारी दिए । “चल्ला बिक्री गर्ने कार्टुनमा सबै कुरा उल्लेख हुनुपर्छ”, उनले भने , “तर नियन्त्रणमा लिइएका चल्लाको कार्टुनमा कुनै कुरा उल्लेख गरिएको छैन ।”

चितवनका कुखुरा व्यवसायी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकार लगायतको रोहवरमा चल्ला नष्ट गरिएको हो । यसअघि शुक्रबार मात्रै चितवनमा पाँच हजार ५०८ ब्वायलर कुखुराका चल्ला नष्ट गरिएको थियो । भारतमा बर्डफ्लुको सङ्क्रमण रहेको हुँदा अहिले भारतबाट चल्ला ल्याउन रोक लगाइएको छ भने नेपालभित्रै पनि आवश्यक मापदण्ड पूरा गर्नुपर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button