म्याग्दीकै ऐतिहासिक स्थल खड्गभवानी कोतसम्म पदमार्ग

धुर्वसागर शर्मा, पोखरा न्यूज – २८, साउन । करीब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको म्याग्दीकै ऐतिहासिक स्थल खड्गभवानी कोतसम्म व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ वटा सिँडीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानी कोत पुग्न सहज भएको छ ।

आव २०७५/७६ मा मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त रु १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको रु तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको बेनी नगरपालिका-२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दुरीमा फलामको रेलिङ राखिएको बताए । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिँड्डुल गर्न सकिनुका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले विश्वास व्यक्त गरे ।

खड्ग भवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढि गाउँहरु, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ ।

खड्ग भवानी कोतस्थललाई राजधानी बनाइ विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए । यस कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button