मासिक शुल्क घटाउन क्याम्पसका विद्यार्थीको माग

पोखरा न्यूज – ०६, भदौ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

क्याम्पसले आर्थिक वर्ष २०७६/७७ देखि मासिक शुल्क वृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस एकाइले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई ज्ञापनपत्र बुझाएको हो ।

युनियनकी अध्यक्ष दुर्गा भण्डारीले मासिक शुल्क वृद्धिले विद्यार्थीलाई मार पर्ने भएकाले शुल्क घटाउन माग गरिएको जानकारी दिइन । “गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा चर्को शुल्क वृद्धि भएका कारण गरीब तथा जेहेन्दार विद्यार्थीको अध्ययन/अध्यापन गर्न आर्थिक भार पर्ने देखिएको छ”, उनले भनिन, “विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै न्यायोचित शुल्कदर कायम गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हौँ ।”

भण्डारीका अनुसार २० प्रतिशतसम्म शुल्क बढाउँदा विद्यार्थीलाई कुनै आपत्ति नभए पनि एकैचोटि ५० प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरिएकाले ज्ञापनपत्र बुझाउनु परेको हो । “साविकको शुल्कमा रु दुई/तीन सय वृद्धि गर्दा विद्यार्थीलाई कुनै आपत्ति छैन, तर एकैचोटि रु ५०० सम्म शुल्क वृद्धि गर्ने निर्णय विद्यार्थीको हितमा छैन ।”

क्याम्पस सञ्चालक समितिले विषयअनुसार चालू आर्थिक वर्षदेखि मासिक शुल्कमा वृद्धि गर्ने निर्णय गरेको थियो । जस अनुसार व्यवस्थापनतर्फ रु ८०० बाट रु एक हजार २००, गणिततर्फ रु एक हजारबाट एक हजार ५००, विज्ञानतर्फ रु एक हजार २०० बाट एक हजार ८०० शुल्क वृद्धि गरिएको छ ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले प्रत्येक वर्ष मासिक शुल्क वृद्धि गर्ने प्रचलन भएबमोजिम चालू आर्थिक वर्षमा पनि केही शुल्क वृद्धि भएको जानकारी दिए । “आर्थिक वर्ष फेरिएसँगै शुल्क वृद्धि हुनु नियमित र स्वभाविक हो”, उनले भने, “यसबाट विद्यार्थीलाई केही भार पर्ने भए छलफलबाट समाधान निकाल्छौँ ।”

क्याम्पसले चालू आर्थिक वर्षदेखि अपाङ्गता भएका विद्यार्थीलाई भने सबै तहमा ७५ प्रतिशत छुटसहित अध्यापनको व्यवस्था मिलाएको छ । समुदायबाट सञ्चालित क्याम्पसमा कूल दुई हजार ५०० विद्यार्थीमध्ये दुई हजार विद्यार्थी छात्रा रहेका छन् ।

कूल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । कूल विद्यार्थीमध्ये १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गरिसकेको छ । क्याम्पसले एमबीएस र एमएड तहमा नेपालकै उत्कृष्ट क्याम्पस र नेपालकै दोस्रो उत्कृष्ट सामुदायिक क्याम्पसको उपाधि प्राप्त गरिसकेको छ ।

अमेरिकाको मिजौरी सदन विश्वविद्यालयसँग दौत्य सम्बन्ध कायम गरेको क्याम्पसमा आधुनिक र पर्याप्त पाठ्यसामग्रीसहितको व्यवस्थित पुस्तकालय, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, छात्रा विद्यार्थीका लागि छात्रावासको व्यवस्था रहेको छ । क्याम्पसले गरीब, जेहेन्दार, दलित, जनजाति, सीमान्तकृत, शहीद परिवार, भूकम्पपीडित विद्यार्थीका लागि अक्षयकोषबाट छात्रवृत्तिको व्यवस्था गर्ने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button