विश्व सम्पदा सूचीमा समावेश बौद्ध स्तुप डुबानमा

पोखरा न्यूज – ०८, भदौ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपसहितको सांस्कृतिक स्थल एवं यस वरपरको सडक तीनचुलेबाट आउने बाढीका कारण प्रत्येक वर्ष बर्सात्मा डुब्ने गरेको छ । डुबानका बेला यस क्षेत्रमा सवारी आवागमनमा समेत बाधा पुग्ने गरेको छ । सवारी घण्टौँ जाममा पर्दा टाढा पुग्ने यात्रुले सास्ती भोग्छन् ।

समिति सदस्यसमेत रहेका सांसद यज्ञराज सुनुवार आफू विसं २०४७ मा अध्ययनका लागि बौद्ध क्षेत्रमा बस्दादेखि नै यो सडक सुधार हुन नसकेको बताउछन् । “त्यसबेला पनि यहाँको सडक जीर्ण थियो, बर्सातमा यहाँ ठूलो बाढी आउँथ्यो, सम्पदा क्षेत्र भएर पनि अझै बाढीको व्यवस्थापन र सडक सुधार हुन सकेन”, उनले भने ।

बौद्ध पीपलबोटमा भने सडकमै खुला रुपमा मलमूत्र मिश्रित ढलको दुर्गन्ध फैलिएको छ । स्थानीय टुल्कु लामाले नेपाल भ्रमण वर्ष आउन चार महीना बाँकी हुँदासमेत सम्पदा क्षेत्रमा ढलको दुर्गन्ध व्यवस्थापन हुन नसकेको दुःखेसो पोखे । यस क्षेत्रमा विगत एक वर्षदेखि यसरी सडकमै ढल बगिरहेको छ ।

ढल बग्ने ठाउँमा ठूलो खाडलसमेत बनिसकेको छ । ठूला हिम पाइपले छेकेर अस्थायी रुपमा यहाँको जोखिम न्यून गरिएको छ । हिम पाइप हटाउने बित्तिकै यहाँ दुर्घटना हुनसक्ने खतरा छ । यतातिर सरोकार भएका निकायको ध्यान जान नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

बौद्ध पीपलबोटबाट जोरपाटीतिर तल्लोपट्टिमा सडक बढाउन खोजेपछि स्थानीयवासीले घर भत्काएका छैनन् । प्राधिकरणले पक्षपात गरेर एकातर्फ मात्र ‘डिमार्केशन’ गरेको लामाले बताए । केन्द्रबिन्दुबाट दुवैतिर उत्तिकै जग्गा लिए दिन तयार रहेको उनले बताए । जोरपाटी क्षेत्रका केही घर भत्किए पनि धेरैले मुआब्जा माग गरेका छन् । भत्किएका घर अघि पनि व्यवस्थित नगरिँदा सडक अस्तव्यस्त छ ।

घर भत्काएको स्थानमा पनि फुटपाथ पसल चलाएर पैदल हिँड्न नसकिने स्थिति रहेको रामकृष्ण बरालको भनाइ छ । दक्षिणढोकामा पुलको चौडाइ सानो हुँदा गोकर्ण जङ्गलतिरबाट आउने खोलाको बाढीले बर्सातमा यहाँको बस्ती डुब्ने गरेको गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङले बताए  ।

तिवारीटोल, थली एवं डाँछी बजारका स्थानीयवासीले घरजग्गाको मुआब्जा माग गर्दै सडक विस्तार गर्न मानेका छैनन् । घरघरमा सर्वोच्चको आदेशबमोजिम मुआब्जा दिएर मात्र विस्तारको काम अघि बढाउन माग गर्दै कालो फ्लेक्स झुण्ड्याएको देख्न सकिन्छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनी सरकारले नीतिगत निर्णय नगरी यो समस्या समाधान नहुने बताउछन् ।

शङ्खरापुर नगरपालिकाको सलम्बुटार क्षेत्रमा वनको रूख कटानको आदेश लिन नै तीन वर्ष लागेको थियो । सडक छिटो सम्पन्न गर्ने भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पटकपटक प्रतिबद्धता जनाउनु भए पनि काम नभएको शङ्खरापुर नगरपालिका-९ का अध्यक्ष घनश्याम थापाले गुनासो गरे ।

करीब १२ किमीको यो सडक पाँच खण्डमा काम भइरहेको छ । चाबहिलबाट वाग्मती पुलसम्मको ३.६ किमी खण्डमा युनाइटेड बिल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले काम गरिरहेको छ । दक्षिणढोकाबाट थली उकालोसम्म २.४ किमी दूरीमा बज्रगुरु/च्याङमिला/खानी जेभीको ठेक्का छ ।

थलीबाट डाँछी तीन किमी दूरीमा बज्रगुरु/बिरुवा/खानी जेभी, डाँछीबाट सलम्बुटार वनको बीच सडकसम्म बिटी/सुनकोशी/वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्मको एक किमी सडकमा लामा/समानान्तर जेभीले ठेक्का पाएका छन् । निर्माण व्यवसायी नारायण भट्टराई विद्युत्को पोल र तार, टेलिफोनको तार, खानेपानीका पाइप हटाउनेजस्ता काममा तीन वर्षसम्म लाग्दासमेत काममा ढिलाइ भइरकेको बताउछन् ।

घरको मुआब्जा लिएर भत्काउन तयार भएकाले पनि सर्वोच्च फैसला मुआब्जा दिएर मात्र काम गर्नु भन्ने आएपछि घर जग्गा छोड्न नमानेका कारण पनि काममा अवरोध भइरहेको उनले संसदीय समितिलाई सुनाए ।

कुल १२.५ किमीको यो सडकमा पाइलैपिच्छे समस्या छ । समिति सभापति खड्काले अनुगमनपछि सरोकार भएका निकायलाई बैठकमा डाकी छलफल गराउने प्रतिबद्धता जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button