नेपाल-जापान सिधा उडान शुरु

पोखरा न्यूज – १२, भदौ ।  राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ ।

आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गरेका थिए  । बिहान २ः३८ बजे प्रस्थान गरेको विमान साढे ६ घण्टापछि आज ओसाका पुगेको समाचारदाता सिवी अधिकारीले जानकारी दिए ।

उद्घाटनका क्रममा संक्षिप्त मन्तव्य दिँदै मन्त्री भट्टराईले ओसाका उडान नेपालका लागि क्रान्तिकारी फड्को भएको बताए । उनले अन्य क्षेत्रमा पनि निगमले उडान विस्तार गर्नुपर्नेमा जोड दिँदै निगमको सुधारतर्फ ध्यान दिनसमेत आग्रह गरे ।

सो क्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पर्यटन वर्षलाई लक्षित गरी उडान शुरु गरिएको बताउँदै अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने बताए । सो क्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोको समेत उपस्थिति थियो ।

ओसाका उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधिलगायत १४९ जना सवार छन् ।

निगमले २७४ यात्रु क्षमताको वाइडबडी ‘ए’ ३३०–२०० जहाजबाट साताको मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ-ओसाका नियमित उडान गर्ने जनाएको छ । निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ-ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ ।

उक्त गन्तव्यमा दुईतर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवर्द्धनात्मक भाडा दर हो । एक महीनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ । काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका-काठमाडौँको साढे सात घण्टा हुनेछ ।

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमले उल्लेख गरेको छ । निगमले वाइडबडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button