साफ यू-१५ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने

पोखरा न्यूज – १३, भदौ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू-१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन् ।

भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई ६-० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै भारत साविक विजेता बंगलादेशलाई ४-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

भुटानसँगको खेलमा नेपालका लागि कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक/एक गोल गरेका थिए । खेलको पाँचौ मिनेटमा प्रदिपले पेनाल्टीमार्फत गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा निराजनले गोल गरे ।

यस्तै खेलको ४८औँ मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गरी नेपाललाई ३-० को अवस्थामा पुर्याए । खेलको ७५औँ मिनेटमा अशिमले, ८५औँ मिनेटमा क्रिसले तथा अतिरिक्त समयमा सुगमले गोल गरी नेपाललाई ६-० गोलको सहज जित दिलाएका थिए ।

यस्तै भुटानसँगको खेलमा भारतका लागि हिमांशु जान्ग्राले तीन तथा शुभो पलले एक गोल गरेका थिए । पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसपछिका तीन खेलमा नेपालले श्रीलङ्का, बंगलादेश र भूटानलाई पराजित गरेको थियो । भारत भने अपराजित रहँदै फाइनल पुगेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button