पोखरा न्यूज – १३, भदौ । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन् । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गालेका उनले विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आएका छन् ।
अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक रानामगरलाई साउदी बसेरै स्वदेश फर्कीएका सोही स्थानका रामप्रसाद पुन र अर्का शेरबहादुर श्रीसले साथ दिए । ती तीनै जनाले सामूहिकरूपमा मिलिजुली कृषि फार्म खोलेर तरकारी खेती शुरु गरेका हुन् ।
वार्षिक रु ४५ हजार तिर्ने गरी १८ रोपनी जग्गा भाडामा लिएर गरिएको तरकारी खेतीबाट अहिले मनग्य आम्दानी हुन थालेको छ । “तरकारी बेचेर कमाएको शुरुको आम्दानीले लगानी थप्नै ठिक्क भयो”, कृषक रानामगरले भने “खेती गर्न थालेको आठ वर्षपछि बल्ल बचत गर्न थालेका छौँ ।” गिरौदै खोलामा १२ रोपनी र बडिगाड गाउँपालिका–२ खर्वाङमा छ रोपनी जग्गा भाडामा लिएर अहिले हाइटेक प्रविधिको १२ टनेलमा टमाटर, सिमी, घिरौँलो, काँक्रो, सागलगायत अन्य बेमौसमी तरकारी फलाइएका छन् । हालसम्म तरकारी खेतीमा रु ४० लाख लगानी भइसकेको उनले बताए ।
परम्परागत प्रविधिभन्दा हाइटेक प्रविधिमा दोब्बरले नाफा गर्न सकिने कृषक रानामगरको अनुभव छ । हाइटेक प्रविधिको टनेल निकै खर्चिलो भए पनि दिर्घकालीनरूपमा आम्दानी गर्न निकै सहज भएको अर्का कृषक रामप्रसाद पुनले बताए । हालसम्म झण्डै रु ४० लाख लगानी गरिसकेका उनिहरूले अबको आम्दानी पूरै बचत हुने जानकारी दिए । रानामगरले भने तरकारीमा आवश्यक मलका लागि कुखुरा, बाख्रा तथा बङ्गुरसमेत पाल्दै आएकाछन ।
अहिले सामूहिकरूपमा गरिएको तरकारी खेतीबाट वार्षिकरूपमा रु २० लाख आम्दानी गर्ने गरेको अर्का सहकर्मी श्रीसले बताए । “हामीले दुई जनालाई रोजगारीसमेत प्रदान गरेका छौँ, आवश्यकताअनुसार अन्य कामदारसमेत ज्यालादारीमा लिन्छौँ”, उनले भने , “सबै खर्च कटाउँदा रु १५ लाख बचत हुन्छ, त्यो तीन जनालाई बाँड्छौँ ।” गिरौदीको तरकारी खेतीमा सोझै सिँचाइ कुलोको पानी थोपा सिँचाइमार्फत प्रयोग गरिँदै आएको र खर्वाङको तरकारी खेतीमा पम्पको सहायताले बडिगाड खोलाको पानी ल्याएर प्रयोग गरिँदै आएको कृषक श्रीसले जानकारी दिए ।
उत्पादन भएको तरकारी गलकोट, खर्वाङ तथा नजिकै रहेको गुल्मीको मुसिकोट नगरपालिकाभित्रै खपत हुँदै आएको छ । हालसम्म प्याक्ट कार्यक्रममार्फत रु १० लाख र बडिगाड गाउँपालिकाबाट केही रकम अनुदान प्राप्त गरे पनि प्राविधिकरूपमा कसैबाट सहयोग नपाएको कृषक रानामगरले बताए ।