लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

दीननाथ बराल, पोखरा न्यूज – १४, भदौ । पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको प्रतियोगितामा शनिबार भएको लिग चरणका खेलमा घरेलु टिम गण्डकी प्रदेश र यू-डाईमण्ड एकेडेमिले जित हासिल गरेका छन्।

शनिबार बिहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५-१४, २५-११, २५-१५ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी दोस्रो खेलमा यू-डाईमण्ड एकेडेमिले चितवन टाईगर्स क्लबलाई २५-१४, २५-२०, २५-१४ को सोझै सेटमा पराजित  गर्यो ।

शनिबार हुने भनिएका दुई खेल अत्याधिक बर्षादका कारण स्थगित भएको नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष यम बहादुर गुरुङले बताए । गण्डकी प्रदेश विरुद्ध श्रीराम खेलकुद विकास समिति दाङ बिच खेल जारी रहदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसंगै तेस्रो सेटमा अत्याधिक पानी परेको हुनाले खेल स्थगित भएको गुरुङले जनाए । त्यसैगरी आजै  हुने भनिएको अन्तिम खेल न्यू-डाईमण्ड विरुद्ध नेपाल पुलिस क्लब बिचको खेल पनि  स्थगित भएको छ । स्थगित खेल आइतबार विहान ७ बजे पछि हुने प्रतियोगिताका खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । स्थगित खेल बाहेक आइतबार लिग चरणका ४ खेल हुने छन्।

यसैबिच सोमबारसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले गरे । कार्यक्रममा बोल्दै उनले नव आदर्श सामुदायिक विकास समाजलाई अन्तराष्ट्रिय स्तरकै भलिबल प्रतियोगिता गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न राखेप तयार रहेको जनाए ।

उनले भने “छात्रा भलिबलको रुप राष्ट्रिय भलिबल भएकाले अब राष्ट्रिय भलिबलको सुधारिएको रुप अन्तराष्ट्रिय स्तरकै भलिबल प्रतियोगिता हुनुपर्छ तपाईहरुले आयोेजना गर्नुहोस, राखेपको क्यालेण्डरमै यसलाई समेट्नुहोस हामी सहयोग गछौं । ” नेपालीहरुको सबै भन्दा बढी लामो समयसम्म मनाइने पर्वको रुपमा तिज पर्व रहेको उल्लेख गर्दै राखेप सदस्य सचिव शिल्वालले काठमाण्डौंमा तित पर्वको एक महिना अघिदेखि विभिन्न पार्टी प्यालेसमा पार्टी हुने गरेको बताए ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा यही भदौं १६ गते सम्म इन्द्रराज्य लक्ष्मि माविको परिसमा संचालन हुने प्रतियोगितामा प्राविधिक कारण डिफेन्डीङ्ग च्याम्पियन शसस्त्र प्रहरी बल (एपिएफ) सहभागि हुने छैन । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेस्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।

यसैगरी महोत्सवमा शनिबार सम्पन्न भएको नरबहादुर बानिया स्मृति गण्डकी प्रदेश स्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले ६ स्वर्ण, १ रजत र ३ काँस्य पदक सहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते संघका अध्यक्ष सुरन्द्र गुरुङले बताए ।

प्रतियोगितामा २ स्वर्ण, ३ रजत र ५ काँस्य पदकका साथमा कास्की दोस्रो र २ स्वर्ण, १ रजत र ५ कास्य पदकको साथमा तनहुँ तेस्रो भएको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १० जिल्लाका एक सय २० जना खेलाडीहरु सहभागि भएको संघले जनाएको छ ।

महोत्सव अन्तर्गत  तिज गित प्रतियोगितामा १३ टिमको सहभागिता रहेको महोत्सव प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । शनिबार चोलेन्द्र पौडेल, माया गुरुङ, सुरज आचार्य लगायतका कलाकारको प्रस्तुती रहेको सांस्कृतिक संयोजक दीलबहादुर थापाले बताए ।

डिस मिडिया प्रालि प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । महोत्सवमा ४० भन्दा बढी स्टलहरु रहेको समाजका अध्यक्ष कमलबहादुर थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button