पर्यटकको रोजाइमा बागलुङको शालिग्राम संग्रहालय

खेमराज गौतम, पोखरा न्यूज – १७, भदौ । बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत संग्रहालय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी संग्रहालय निर्माण गर्न थालिएको थियो । संग्रहालय निर्माण अन्तिम चरणमा छ । निर्माणाधीन अवस्थामै रहेको संग्रहालयको सुरुङ हेर्न तथा मन्दिर अवलोकनका लागि दैनिक २०० देखि ३०० पर्यटक आउन थालेका छन् ।

करिब ७६ मिटर लामो उक्त सुरुङ निर्माण सकिएपछि अहिले शालग्राम सजावट गर्ने स्थल, वृत्तचित्र प्रदर्शनी, निलगिरि र धवलागिरि हिमाललगायतका संरचना बनिरहेका छन् । सुरुङमा तिरुपत बालाजीधाममा रहेका २४ हजार शालग्राम तथा मुक्तिनाथलगायतका स्थानमा सङ्कलन गरिएका ७५ हजार गरी झण्डै एक लाख शालिग्राम एकैसाथ दर्शन गर्न मिल्ने व्यवस्थासहित अहिले संग्रहालय निर्माण अन्तिम चरणमा छ ।

झण्डै रु छ करोडको लागतमा नवनिर्मित बालाजीधामको मन्दिर, समाजसेवी सहदेव राजभण्डारीद्वारा रु एक करोड बढी लागतमा निर्मित ताम्रपत्रले छाएको सभाहल, गरुडशिला र निर्माणधीन संग्रहालयले पर्यटक आकर्षण गर्न थालेको तिरुपती बालाजीधाम मन्दिर व्यवस्थापन समितिले जनाएको छ । संग्रहालयमा मुक्तिनाथदेखि दामोदर कुण्डसम्मको आकृतिलाई समेत देख्न सकिन्छ । हाल पर्वत, म्याग्दी तथा बागलुङका विभिन्न स्थान तथा मुक्तिनाथ पुग्ने भारतीय पर्यटकसमेत अवलोकनका लागि आउन थालेका बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताए ।

मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका-४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाम मन्दिरमा शालिग्राम  संग्रहालय निर्माणका लागि त्रिशूल आकारमा सुरुङमार्ग निर्माण गरी सङ्ग्राहलय बन्दैछ । शालिग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएपछि यहाँको मन्दिरले संरक्षणका लागि भू-गर्भभित्र दुई वर्षअघिमात्र संग्रहालय निर्माण थालिएको थियो ।

“शिवजीको प्रिय अस्त्रका रुपमा मानिने त्रिशूल आकारको चार खण्डमा ७६ मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ”, धामका अध्यक्ष प्रपन्नाचार्यले भने, “संग्रहालय निर्माण शुरु गरेलगत्तै पर्यटकको चासो थियो, अहिले दैनिक २०० बढी पर्यटक मन्दिर र निर्माणाधीन संग्रहालय हेर्न आउँछन् ।” झण्डै रु तीन करोडको लागतमा सम्पन्न भएको सुरुङ र संग्रहालय पूर्णरुपमा रुपान्तरण गर्न अझै रु तीन करोड लाग्ने प्रपन्नाचार्यले बताए ।

निर्माण थालेपछि विभिन्न संरचना थपिदै गएपछि रु दुई करोड बढी लागत थपिएको उनको भनाइ छ । ‘सेमीसर्कल’ प्रविधिमा निर्माण गरिएको उक्त सुरुङको तीन मिटर उचाइ रहेको सुरुङमार्ग निर्माणको जिम्मा पाएको साउथ एशियन एन्फास्ट्रक्चर निर्माण कम्पनीले जनाएको छ । संग्रहालयले समग्र जिल्लाको पहिचान गराई अन्तर्राष्ट्रियरूपमा पहिचान दिने बागलुङ नगरपालिका–४ का वडाध्यक्ष धुर्वबहादुर केसीले बताए । सङ्ग्राहलय निर्माणपश्चात वार्षिक एक लाख बढी पर्यटक भित्र्याउने मन्दिरले लक्ष्य राखेको छ ।

उनले सरकारी क्षेत्रबाट संग्रहालयका लागि रु एक करोड बजेट खर्च गरिएको र आगामी दिनमा तीनवटै सरकारसमक्ष बजेट माग गरिएको बताए । नदीमा प्रशस्त मात्रामा पाइने शालिग्राम लोप हुन थालेपछि यसको संरक्षणका बारेमा धार्मिक व्यक्ति तथा सम्बद्ध सङ्घसंस्थाले चिन्ता र चासो व्यक्त गरेका छन् । विशेषगरी मुक्तिनाथ जाने भारतीय पर्यटक भित्र्याउन सुरुङमार्गसहितको संग्रहालय निर्माण थालिएको थियो । सुरुङमार्ग निर्माण भएको स्थानमा वेदविद्याश्रम, कुटी तथा ऐतिहासिक महत्व बोकेका मन्दिरसमेत देख्न पाइने हुनाले पर्यटकको आकर्षण बढेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button