फेरी बढ्यो सुनको मूल्य

पोखरा न्यूज – १८, भदौ ।  भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महा संघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ५ सय कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला रु ५सय ले वृद्धि भई तोलाको रु ७२ हजार ५ सय मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७२ हजार २ सय मा कारोवार भएको थियो ।

सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ३५ ले वृद्धि भई ९ सय ४० पुगेको छ ।

पछिल्लो १५ दिनमा सुनको मूल्य छ पटक बढेको छ भने तीन पटक घटेको छ । भदौको शुरुआतदेखि आजसम्म सुनको मूल्य प्रतितोला रु दुई हजार ५ सय ले वृद्धि भएको छ । भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७ सय कायम भएको थियो ।

साउन महीनाको शुरुआतदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा मात्रै सुनको मूल्य करीब रु सात हजार ५ सय ले वृद्धि भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा पनि मूल्य बढेको महासङ्घले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५३७.५९ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्यले नेपाली बजारलाई दबाबमा पारेको हो ।

बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ ।

पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणा गरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आँकलन गरिएको छ । अहिले बजारमा सुनको बिक्री ठप्प प्रायः रहेको व्यवसायी बताउँछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button