बागलुङमा आलुका परिकारले पाहुना लोभ्याउँदै

खेमराज गौतम ,पोखरा न्यूज – २०, भदौ । बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा घरवास होमस्टेमा आलुका अनेक परिकार बन्छन् ।

ती परिकारले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । उसिनेका आलु, सिल्टिुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटी लगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक बताउँछन् ।

उच्च पहाडी गाउँको चिसो स्थानमा पाइने आलु स्वादिलो हुने भएकाले पाहुनाले आलुका विभिन्न परिकारका स्वाद निकै मिठो मानेर खाने गरेको बेलढुङ्गा सामुदायिक घरवासका अध्यक्ष टेकबहादुर पुनले बताए । “पाहुनालाई उसिनेको आलु, पोलेको, घिउमा तारेको, अचारलगायतका परिकार खुवाउने गरेका छौँ”, पुनले भने , “दोस्रो पटक आउने पाहुनाले शुरुमै आलुकै परिकारको माग राख्ने गरेका छन्।”

घरवासमा आयातित खाद्य सामग्रीलाई निषेध गरी स्थानीयस्तरमा उत्पादित खानाका परिकारलाई विशेष रुपमा प्रबर्द्धन  गर्ने स्थानीयको योजना छ । गाउँकै मुख्य बालीको रुपमा उत्पादन हुने आलुको व्यवसायीकरण र अन्य उत्पादनलाई समेत प्रबर्द्धन गर्न अब गाउँलाई अर्गानिक गाउँकोे रुपमा स्थापित गर्ने योजनासमेत अघि बढाइएको घरवासका सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताए  ।

घरवास सेवामा आलुका परिकारलाई मुख्य आकर्षणको रुपमा राखिएको छ । यसका साथै सिस्नोको खोले, फापरको पिठो, मकै, भटमास, कोदोको रोटी, ढिँडो, बाँकाको सिन्कीलगायतका परिकारको समेत स्वाद लिन सकिन्छ । “हाल एक रातमा २० जना आरामदायी रुपमा बस्न मिल्ने गरी १० घरमा व्यवस्थापन गरेका छौँ”, सञ्चालक उमा श्रीसले भनिन , “पाहुनाको आगमनअनुसार थप व्यवस्थित र विस्तार गर्ने योजना छ ।” पाहुनलाई स्वागत गर्न मालादेखि बिदाइ गर्ने क्रममा समेत कोशेलीका रुपमा आलुनै प्रयोग गर्ने योजना बनाएको उनले बताए  ।

आलुको परिकारले घरवासको छुट्टै पहिचान दिन सफल भएको घरवासमा पुगेका बागलुङ नगरपालिका–८ सिगानाका कृष्ण खड्काले बताए  । “आलु त सधैँ खाइन्थो तर धम्जा र त्यहाँको घरवासको आलु निकै स्वादिलो रहेछ”, खड्काले भने , “पाहुनालाई आलुकै मालादेखि आलुकै कोसेली, हावापानी सबै हिसाबले यस ठाउँमा पुग्दा निकै आनन्दको महसुस भएको छ ।” साविकको धम्जा गाविसको ओखले र असौजेमा आलुको उत्पादन धेरै ठूलो परिमाणमा हुने भएकाले यसको व्यावसायिक सुनिश्चितताका लागि आलु चिस्यान केन्द्रसमेत निर्माण गरिएको छ ।

घरवासमा आउने पाहुनाको स्वागत सत्कारका लागि गण्डकी प्रदेश सरकारको दश लाख र काठेखोला गाउँपालिकाको एक लाख सहयोगमा २ सय  क्षमताको सामुदायिक भवनसमेत निर्माण गरिएको छ । भवनमा पाहुनालाई सामूहिक रुपमा नाचगानसहित स्वागत सत्कार गरिन्छ । त्यसपछि खाना र आवासका लागि घरघरमा व्यवस्था छ । गाउँ पुगेका पाहुनालाई परम्परागत झाँकी, गीत सङ्गीत र नाच देखाउने गरिन्छ ।

पछिल्लो समय घरवासलाई समेत प्रवद्र्धन गर्ने गरी बागलुङ नगरपालिकाको पञ्चकोटदेखि संसारकोट, कारिकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि हुँदै धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा अवस्थित बेलढुङ्गा चढ्ने गरी पदमार्गको रेखाङ्कनसमेत गरिएको छ । बेलढुङ्गाबाट निकै लामो हिमशृङ्खला र विभिन्न गाउँ शहरको दृश्य हेर्न सकिने छ ।

गाउँपालिकाले समेत धम्जा गाउँलाई आलु जोनको रुपमा विकास गर्ने लक्ष्य राखेको काठेखोला गाउँपालिका–३ का अध्यक्ष यामबहादुर श्रीसले बताए । “गाउँ अहिले गाउँजस्तो छैन, बसाइँसराइले सुनसान बन्न थालेको छ”, अध्यक्ष श्रीसले भने , “स्थानीयलाई आयआर्जनमा अग्रसर बनाएर गाउँमै आनन्दले रम्ने बस्ने व्यवस्था गर्ने गरी हामीले योजना र कार्यक्रम बनाइरहेका छौँ ।”

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. बधाइछ बेल धुङा होमस्ते लाई खुशी लाग्यो अझै पर्गतिको कामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button