बागलुङमा बजार लिँदै बेमौसमी सुन्तला

 पोखरा न्यूज – ०६, असोज । बागलुङको गल्कोटमा सामान्यतया सुन्तलाको याम कात्तिक र मङ्सिरमा हुन्छ । बर्खायाम सकी नसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने अहिले सुन्तला टिप्न र बजार पठाउन व्यस्त छन् ।

बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले राम्रो फल दिएपछि उनको खुशीको सीमा र व्यस्तता दुवै बढ्दै गएकोे छ ।

आफ्नो बगानमा लगाएका एक सयभन्दा बढी सुन्तलाका बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले याम अगावै बजार पठाउन थालेका छन । ४ दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । ४ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करीब एक सयभन्दा बढी सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उनि उत्साहित छन् । बेमौसमी सुन्तला भदौदेखि नै पाक्न थालेपछि तीजदेखि बजार पठाउन थालेको र दशैँसम्ममा बिक्री गरिसक्ने खड्काको तयारी छ ।

कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मिहिनेत गर्ने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर व्यावसायिक रुपमा बेमौसमी सुन्तला खेती थालेका थिए । नेपालमा अधिकांश कात्तिक/मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकामा खड्काले भदौ/असोजमै पाक्ने जापानिज ‘उन्सू’ जातको सुन्तला खेती गरेकाछन । मौसमी सुन्तलाको मूल्यभन्दा तेब्बर बढी मूल्यमा बिक्री हुने ‘उन्सू’ जातको सुन्तलाको स्वाद मौसमी सुन्तलाकै जस्तो भएकाले यसले राम्रो बजार पाउने सम्भावना रहेकोे कृषक खड्काले बताए ।

“मैले ४० वर्ष स्थानीय तथा कात्तिक/मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आइरहेको थिएँ, अध्ययन गर्दै जाँदा जापानिज जातको सुन्तला लगाउने सोच आएपछि यसको खेती थालेको हुँ”, उनले भने, “अहिले आफ्नो बगानमा करीब १ सय बोटमा लटरम्म सुन्तला पाकेको छ, म उत्साहित छु ।” खड्काले व्यवसायलाई विस्तार गरी थप १४ रोपनी जग्गा भाडामा लिएर विभिन्न प्रजातिका सुन्तला खेती गरिरहेका छन ।

खड्काको सुन्तला बगानमा फागुन/चैतमा पाक्ने मर्कर, मङ्सिर/पुसमा पाक्ने कोङवान, विन्तो तथा भदौ असोजमा पाक्ने उन्सू प्रजातिका सुन्तलासमेत उत्पादन गर्न शुरु गरेको खड्काले बताए । “अहिले ‘उन्सू’ जातको सुन्तला फलेको छ”, उनले भने, “मङ्सिरमा १० हजार केजी कोङवान जातको सुन्तला उत्पादन गर्नेे लक्ष्य लिएको छु ।” उनले भने, “बेमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँचीको समेत खेती गर्दै आएको छु ।” थोरै मिहिनेतमा धेरै आम्दानी गर्नका लागि बेमौसमी सुन्तला खेतीतर्फ आकर्षण बढेको खड्काले बताए । बाह्रै महीना सुन्तला उत्पादन गर्ने गरी अघि बढेको उनको भनाइ छ । सबै जातका सुन्तला मिलाएर लगाउँदा प्रत्येक २/२ महीनामा सुन्तला उत्पादन गर्न सकिने खड्काले बताए ।

खड्काका अनुसार सानो बोट हुने जापानिज सुन्तलामा प्रत्येक बोटमा एक सयदेखि २ सय सुन्तलाका दाना लाग्ने गरेको छ । “मौसमी सुन्तलाजस्तो ठूलो बोट र धेरै सुन्तला फल्दैनन्”, उनले भने, “धेरै सङ्ख्यामा बिरुवा लगाउन सके राम्रो आम्दानी हुने रहेछ ।” अहिले जापानिज जातको सुन्तलालाई प्रतिकिलो १ सय रुपैयाँमा बिक्री गर्दै आएको खड्काले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button